पोखरा –
शहरी विकासमन्त्री अर्जुननरसिंह केसीले पोखराको बसुन्धरा पार्क निजी क्षेत्रलाई संचालन गर्न दिने पक्षमा सरकार नभएको बताएका छन् ।
पोखराका पर्यटन व्यवसायी, राजनीतिक दल, उद्योगी र नागरिक समाजका प्रतिनिधिसँग हालै पोखरामा छलफल गर्दै केसीले बसुन्धरा पार्क मात्र नभई कुनैपनि सार्वजनिक सम्पत्ति व्यक्तिलाई दिएर कमाई गर्ने मनसाय सरकारको नभएको स्पष्ट पारे । बसुन्धरा पार्कको विषयमा बोल्दै उनले पार्क जुन प्रयोजनको लागि निर्माण गरिएको हो सोही अनुसार विकास गर्ने पक्षमा सरकार रहेको सुनाए । कार्यक्रमका अवसरमा व्यवसायीले मन्त्री केसीलाई ज्ञापनपत्र पनि बुझाएका थिए ।
पर्यटकीय र वातावरणीय महत्वको उक्त सार्वजनिक सम्पत्ति सरकारले बहालमा दिनु अघि स्थानीयस्तरमा कुनै संवाद सरोकार नै नगरेको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुलीले बताए ।
बसुन्धरा पार्क बचाउ समितिले केही महिना पहिला यहाँ कास्कीका ११ जना सभासदलाई राखेर पार्क मास्न नदिन आग्रह गरेको थियो । वातावरणीय प्रभाव परीक्षण नगरी, त्यसको दीर्घकालीन प्रभाव विचार नर्पुयाई एक मात्र खुला ठाउँ पनि व्यावसायिक प्रयोजनका लागि दिए भूकम्प जस्ता ठूला विपत्तिमा स्थानीयले जाने खुला ठाउँ नै नजोगिने तर्क मन्त्रीसँग आयोजित छलफलका सहभागीको थियो ।
पार्क भएको जग्गा फेवा संरक्षण र सुन्दरताका लागि ग्रिनबेल्ट बनाउने भनी सरकारी निर्णयअनुसार अधिग्रहण गरिएको स्थानीयको भनाई छ । पार्कमा कुनै संरचना बनाउन नहुने र यसलाई ग्रिनबेल्टकै रुपमा विकास गर्नुपर्ने माग स्थानीयको छ ।
सार्वजनिक निजी साझेदारी तथा निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) अवधारणाअनुसार २० वर्षपछि कम्पनीले केबलकार सरकारलाई हस्तान्तरण गर्ने सर्तमा मनकामना दर्शन प्रालिले सो जग्गा प्राप्त गरेको थियो ।





