कास्कीमा बस दुर्घटना हुँदा एकको मृत्यु, ८ घाइते (नामावलीसहित)

पोखरा न्यूज ।  कास्कीमा मंगलबार बिहान  बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।  दुर्घटनामा थप आठ जना घाइते भएका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका ३ पाउदुर घुम्तीमा भैरहवाबाट बागलुङका लागि छुटेको  लु१ख ७७६६ नम्बरको यात्रुवाहक बस  बिहान करिब ७ बजे दुर्घटना हुँदा बस चालक पाल्पा घर भएका ४६ वर्षीय भूपेन्द्र खनालको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

चालक खनाललाई बसले च्यापिएको अवस्थाबाट उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा बिहान ९  बजे चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो  ।

दुर्घटनामा  आठ जना घाइते भएको र घाइतेहरूको उद्धार गरी पोखरा स्थित फिस्टेल हस्पिटल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको डिएसपी तिवारीले जनाउनुभयो ।

बस  सडकबाट  खसेर  करिब ३० मिटर तल बस्ती नजिकै पुग्दा  स्थानीय एक  घर मुली  समेत घाइते भएका छन् । घर मूली पाउदुरकी माया बिकको  फिस्टेल अस्पतालमा उपचार भइरहेको छ  ।

यसै गरी बसमा सवार बागलुङ वडा नं -६ लहरे पीपलका २९ वर्षीय शिवराम शर्मा, वडा नं -२  आवारोड बस्ने ४२ वर्षीया सुवर्ण सापकोटा, वडा नं. -१४ बलेवाका २५ वर्षीय  राजु श्रेष्ठ र उहाँका ८५ वर्षीय बुबा  उमलाल श्रेष्ठ तथा ठुलढुङ्गाका  ४८ वर्षीय  कृष्ण खड्काको फिस्टेल हस्पिटलमा उपचार भइरहेको डिएसपी तिवारीले  जानकारी दिनुभयो ।

उहाँहरु मध्ये सुवर्णको अवस्था  सामान्य रहेको,  उमलालको अवस्था गम्भीर रहेको   तथा  अन्यको अवस्था मध्यम रहेको डिएसपी तिवारीको भनाई छ  ।

त्यसतै पर्वत फलेवास -४ बस्ने ३५ वर्षीय  सूर्य तिवारी र चितवन भरतपुर -३ राम्जाली मार्गकी २३ वर्षीया साधना उपाध्यायको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ  । उहाँहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button