नौ धारामा गण्डकीको पानी

पोखरा-

एकसय ६५ मिटर तल रहेको पवित्र कालीगण्डकी नदीको पानी बागलुङ कालिका भगवती मन्दिर परिसरमा ल्याइएको छ । सौर्य ऊर्जा र विद्युत् दुबैबाट ट्याङ्कीमा रहेको मोटरमा ऊर्जा प्रवाह गरी ‘पम्प’ मार्फत् मन्दिरको अग्रभागमा निर्माण गरिएको नौ धारामा पानी खसालिएको हो ।मन्दिर आउने धर्मावलम्बीलाई लक्षित गरी नौवटा धारासहित स्नान गृह पनि निर्माण गरिएको मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो ।

‘कालीगण्डकीको पानीले स्नान गर्ने चाहाने भक्तजनका लागि छुट्टै स्नानघर पनि निर्माण गरेका छौँ, त्यसबाहेक नौ धाराको दर्शनसहित पानीले शरीर स्नान गर्ने व्यवस्था मिलाइएको छ’ अध्यक्ष खड्काले भन्नुभयो । ’धार्मिक महत्वको कालीगण्डकी नदी र कालिका भगवती मन्दिरको ऐतिहासिक सम्बन्धलाई नौ धाराले थप सदृढ पार्ने अध्यक्ष खड्काको भनाइ छ । मन्दिरको उत्तरतर्फको अग्रभागमा निर्माण गरिएको नौ धारामा नौवटै देवीका स्वरुप झल्कने मूर्ति राखिएको छ । प्रत्येक देवीका मूर्र्ति मुनिबाट गाईको प्रतिमूर्ति रहेको धाराबाट पानी खसालिएको छ ।

मन्दिरमा प्रत्येक दिन बिहान कालीगण्डकीको जल चढाउनका लागि पुजारीले नदीमै स्नान गरेर जल ल्याउनुपर्ने चलन थियो । मन्दिर परिसरमै कालीगण्डकीको पानी आएपछि मन्दिर व्यवस्थापन, पुजारी र भक्तजनलाई समेत सहज भएको छ ।चौबिसैघन्टा ती धारामा कालीगण्डकीको पानी आउने हुँदा यसबाट धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । मन्दिरमा निर्माणाधीन अवस्थामा रहेको ‘नमुना’ सौर्य ‘लिफ्ट’ खानेपानी आयोजना अन्तर्गत ती निर्माण गरिएको हो । उक्त आयोजनाबाट मन्दिर क्षेत्रमा दैनिक २५ हजार लिटर पानी आपूर्ति हुनेछ । सरकारको ८० प्रतिशत र कालिका गुठीको २० प्रतिशत गरी कुल रु दुई करोड ६० लाखको लागतमा सो आयोजना पुरा हुन लागेको हो । नौधारा बाहेकका अन्य पूर्वाधार निर्माणको काम भइरहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ ।

आगामी ५० वर्षलाई पुग्ने गरी आयोजनाको स्वरुप तयार गरिएको हो । मन्दिर परिसरमा हालसम्म ५० हजार लिटर क्षमताका दुईवटा ट्याङ्की निर्माण भइसकेका छन् । यही आयोजनाबाट मन्दिर परिसर आसपासका क्षेत्रका पुरानो खानेपानी आयोजना मर्मत, विस्तार र स्तरोन्नति समेत गरिने भएको छ ।थप ६ वटा नयाँ धारा निर्माणसँगै गुठीको वन क्षेत्रमा हुने आगलागी र डढेलो रोक्न दुई हजार २०० मिटर परसम्म पानीको पाइप बिछ्याइने जनाइएको छ ।त्यसैगरी ऐतिहासिक सिद्धेश्वर शिवालय मन्दिर पुनःनिर्माण सुरु भएको छ । दुई सय वर्षअघि बनेको मन्दिर जीर्ण बन्दै गएपछि पुनःनिर्माणमा गाउँले जुटेका हुन् ।

पञ्चवर्षीय योजनाबमोजिम काम अघि बढाइएको मन्दिर संरक्षण परिषद्का अध्यक्ष ज्ञानबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिर परिसरको जग्गा–घडेरी सम्माउने काम सकिएको छ ।चालु आर्थिक वर्षमा रु दस लाख बराबरको काम हुने अध्यक्ष थापाको भनाइ छ । तीन रोपनी क्षेत्रफलमा फैलिएको मन्दिर क्षेत्रमा मन्दिर बाहेक अन्य भौतिक संरचना निर्माण गरिने भएको छ । कलात्मक मन्दिर, धर्मशाला, शिवलिङ्ग, पाटी, सहायक मन्दिर, शौचालय, सभाहल लगायतका संरचना बनाउने योजना समितिले बनाएको छ।“यसका लागि रु।एक करोड भन्दा बढी खर्च हुने अनुमान गरेका छौँं, बर्सेनि क्रमिक रुपमा पुनःनिर्माणको काम अघि बढ्छ” अध्यक्ष थापाले भन्नुभयो “यो क्षेत्रलाई जिल्लाको एउटा आकर्षक धार्मिक गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य बनाएका छौ ।”रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button