
पोखरा-
हिमाली साँस्कृतिक परिवारले काठमाडौं, भृकुटी मण्डप स्थित नेपाल पुलिस क्लबको हलमा विविध साँस्कृतिक कार्यक्रमको प्रस्तुत गरेको छ । नेपाली लोक संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्ने मूल उद्देश्यका साथ २०५४ सालमा स्थापना भएको पोखराको हिमाली सांस्कृतिक परिवार नेपालले आफ्नो कोष बृद्धिको निम्ति गरिएको उक्त कार्यक्रममा सुरक्षा निकायका उच्च पदाधिकारीहरुको उल्लेखनीय उपस्थिति थियो ।
अतिरिक्त प्रहरी महानिरीक्षक रमेश शेखर बज्राचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बरिष्ठ चलचित्र निर्देशक, साहित्य तथा संस्कृतिकर्मी हिमाली सांस्कृतिक परिवारका प्रमुख संरक्षक चेतन कार्की, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कूलपति सरुभक्त श्रेष्ठ, पूर्व प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाह, पूर्व आयुक्त इन्द्रबहादुर शेरचन, अतिरिक्त प्रहरी महानिरीक्षक अर्जूनजंग शाही, पूर्व प्रहरी नायव महानिरीक्षक शेरबहादुर शाह लगायत प्राज्ञ रमेश श्रेष्ठ, प्राज्ञ पूर्ण नेपाली, राष्ट्रिय कलाकार लोचन भट्टराई, जलमाया, क्षेत्र गुरुङ एवं उद्योगपति, व्यवसायी तथा कलाप्रेमीहरुको बाक्लो उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा नेपाली संस्कृतिको प्रतिनिधिको रुपमा छलीया, कौरा, झयाउँरे, देउडा, थकाली, नेवारी, तामाङ सेलो साथै गीती नाटक, लगायत केही आधुनिक र क्लासिकल नृत्यहरुको सफल प्रस्तुती गरिएको थियो । बरिष्ठ कलाकार गौरी गुरुङको एकल नृत्य र हास्य कलाकार दीपक थापाको हास्य नृत्यले कार्यक्रमलाई थप रोचक बनाएको थियो ।
करीब दुई घण्टा लामो कार्यक्रममा नेपाल प्रहरी क्लबका कलाकारहरुले क्लासिकल र राष्ट्रिय गरी दुई ओटा आकर्षक नृत्यहरु प्रस्तुती गरेका थिए । परिवारका अध्यक्ष मेनकाजी गुरुङ, संरक्षक नरबहादुर शेरचन, मानार्थ सदस्यहरु खेमबहादुर गुरुङ, बुद्धिमान गुरुङ धम्पु, विमल शेरचन, महासचिव श्रीजंग गुरुङले यो कार्यक्रम वहाँहरुले सोचे भन्दा बढी सफल भएको वताए । यस कार्यक्रमले हिमाली साँस्कृतिक परिवारको इतिहासमा नयाँ आयाम थप्नुको साथै नेपाल प्रहरीसँगको सम्वन्धलाई अझ बलियो बनाएको समेत वताए । सम्मानित व्यक्तित्वहरुको समुपस्थिति रहेको गरिमामय विविध साँस्कृतिक कार्यक्रममा स्वागत तथा संस्थाको संक्षिप्त परिचयका साथै कार्यक्रम सञ्चालन परिवारका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर थापाले गरेका थिए भने मल्टीमिडियामा परिवारका आजीवन सदस्य तथा तमु संचारकर्मी संघ केन्द्रिय सदस्य मणी लाल गुरुङले गरेका थिए ।





