
काठमाडौं । मंगलबार साँझ गठबन्धनको बैठक सकिएसँगै प्रधानमन्त्री समेत रहनु भएका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लैनचाैर स्थित भारतीय दूतावास पुग्नु भयाे ।
प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरू भारतीय दुतावासमा पुगेपछि नेकपा (एकीकृत समाजवादी) पार्टी निकट अनेरास्ववियु अध्यक्षमा सुदेश पराजुलीले विरोध जनाउनु भएकाे छ ।
स्वदेश फर्कन लागेका भारतीय राजदूत विनयमोहन क्वात्राको बिदाइ भोजमा सहभागी हुन प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितका नेताहरू मंगलबार साँझ लैनचोर पुग्नुभएकाे हाे ।
तर सत्ता गठबन्धनकै घटक समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष पराजुलीले फेसबुकमा भन्नुभएकाे छ, ‘सामान्य कर्मचारी बिदाइमा दुतावास गएर रात्रिभोजमा सरिक हुने कुरा कुटनीतिक मर्यादाविपरीत छ ।’
यस्ता क्रियाकलापबारे नेता, नेतृत्व सदैब आलोचना गर्नुपर्ने उहाँले बताउनु भएकाे छ ।
‘मर्यादाविपरीत भोजले नेताहरू स्वयंको भोक मेटाउँदैन । हाम्रो स्वाभिमान र निष्ठामा केवल चोट मात्रै पुयाउँछ,’ उहाँले लेख्नुभएकाे छ ।





