
पोखरा । नेकपा एमालेले सबैभन्दा पहिले पोखरा महानगरको मेयरमा दीपक पौडेललाई टिकट दियो । उहाँलाई मेयर दिएपछि उपमेयरमा हालकै मन्जुदेवी गुरुङलाई दोहोर्यायो । पौडेलले टिकट पाएपछि एमालेकै नेता कार्यकर्ताले विरोध गरे । पुराना भिडियोहरू हालेर बेइज्जत गरिदिए । गुटले गाँजेको एमालेबाट पौडेलले पाएको टिकट खोसियाे ।
उहाँको ठाउँमा बहालवाला प्रदेश सांसद कृष्ण थापालाई टिकट दिइयो । मन्जु सोही पदमा दोहोरिनु भयाे । अघिल्लो दिनसम्म कुनै हालतमा उपमेयर चुनाव नलड्ने बताउनु भएकी मन्जुले उपमेयर लड्न राजी हुनुभयाे । थापा र गुरुङ पोखरामा केन्द्रीय सदस्य खगराज अधिकारी गुटका हुनुहुन्छ ।
पौडेल भने उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट हुनुहुन्छ । लामो समय अध्यापन गराएर सक्रिय राजनीतिमा लाग्नुभएका पौडेलको टिकट खोसिएन मात्रै उहाँ घरबाट निस्किनै नसक्ने गरी प्रतिष्ठामा आँच आउने काम भयाे । उहाँका आफन्तहरूले तत्काल घरबाट ननिस्किन आग्रह गरेको बताइएको छ ।
हुन पनि टिकट खोसिएकै दिनदेखि पौडेल चुनावी प्रचारमा हुनुहुन्न, उहाँ पाेखराकाे पुरन्चाैरस्थित घरमै आराम गरेर बसिरहनु भएकाे छ । पौडेललाई भेट्न केन्द्रीय वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पुरुन्चौर पुग्नुभएकाे छ । पौडेलले अपमान महसुस गरेका कारण प्रचारमा नलागेको बताइएको छ ।
पार्टीले अन्याय गरेको पौडेलले पोखरेललाई गुनासो गर्नुभयाे । करिब २ घण्टा गोप्य भेटपछि पौडेलले पोखरामा एमालेले चुनाव नहार्ने आश्वास्त पारेर फर्काएको एमाले श्रोतले जनाएको छ । ‘उहाँसँग धेरै गुनासा थिए । ती गुनासा राख्नुभयो,’ ती नेताले भन्नुभयाे, ‘अन्तिममा एमालेले पोखरामा चुनाव जित्ने र त्यसमा निश्चिन्त रहन भन्नुभयो ।’ पोखरेलले पौडेलको योगदान पार्टीले नभुल्ने विश्वास दिएर फर्किनुभएकाे छ ।





