पोखरा । पोखरामा आज मध्यान्हदेखि रोकिएको मतगणना कार्य सुचारु भएको छ । नेकपा एमालेले वडा नं. १८ मा ९ मत हराएको भन्दै फेरि मत गणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको थियो ।
सम्पूर्ण मत गनिसक्दा ९ मत अपुग भएको भन्दै नेकपा एमालेले ७ घण्टादेखि मतगणना कार्यमा अवरोध पुर्याएकोमा एमालेले पेस गरेको निवेदन दर्ता भएसँगै मतगणना कार्य पुन : शुरु भएको हो ।
अहिले सो विषय कानुनी प्रक्रियामा रहेको जनाउँदै मुख्य निर्वाचन अधिकृत श्री कृष्ण भट्टराईले सरोकारवालाहरू सँगको छलफल पछि मतगणना शुरु हुन लागेको बताउनुभयो ।
महानगरका वडा २२, ३२ र ३३ को मतगणना कार्य जारी रहेको अवस्थामा वडा १८ को विषयलाई लिएर एमालेका प्रतिनिधिले गणनास्थल छोडेर हिँडेपछि गणना रोकिएको थियो ।
पोखरा १८ मा नेकपा एमाले ३ मतले नेपाली काँग्रेससँग पराजित भएको थियो । उक्त वडामा मुचुल्कामा भन्दा ९ मत कम भेटिएको थियो ।
पोखरा १८ मा एमालेका पुष्कल थापाले एक हजार ६४० मत ल्याएका थिए भने कांग्रेसका शिव तिमिल्सनाले एक हजार ६४३ मत ल्याएका थिए । यहाँ चार हजार ३४८ मत खसे पनि गणनाको क्रममा चार हजार ३३९ मत मात्र भेटिएको थियो ।