नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबारदेखि पोखरामा सुरु भएको पौडी प्रतियोगीतामा नयाँ रेकर्ड कायम भएको छ ।
१३ औँ सागमा १५ सय मिटर फ्रि स्टाइलमा १७ मिनेट ४९.९५ सेकेण्ड लगाएका त्रिभुवन आर्मी क्लबका नासीर याहा हुसेनले शनिबार बिहान फिस्टेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगितामा १६ मिनेट ५०.२१ सेकेण्डमा दुरी पुरा गरे । उनले यस अघि आफ्नै नाममा रहेको रेकर्ड ब्रेक गर्दै स्वर्ण जितेका हुन् । त्यसै गरि एनआरएनका आशिष सापकोटाले १६ मिनेट ५७.९५ सेकेण्डमा पुरा गरेका थिए ।
आज भएको २ सय मिटर पौडीमा त्रिभुवन आर्मी क्लबकै डुवाना लामाले २ मिनेट ३१.४६ सेकेण्डमा पुरा गर्दै यसअगाडि गौरिका सिंहको २ मिनेट ३२ सेकेण्डको किर्तिमान तोड्दै नयाँ राष्ट्रिय किर्तिमान बनाउन सफल बनिन् ।
पौडी प्रतियोगितामा २०३ जना खेलाडीहरुले सहभागिता जनाएको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए । २५ मिटर हिट देखि १५ सय मिटर हिट सम्म हुने कार्यक्रमको आइतबार बिहान ८ सय मिटर पौडी खेल प्रतियोगिताको फाइनल हुने बजाचार्यले बताए ।
नेपाल पौडी खेल संघका केन्द्रीय अध्यक्ष बज्राचार्यका अनुसार ४ स्ट्रोकमा २१ इभेन्टहरु संचालन हुने छन् । फ्रि स्टाइल, व्रेष्ट स्ट्रोक, बटरफ्लाई, बटरफ्लाई ब्याक स्ट्रोक र इन्डिभिजुअल मेड्ले विधामा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।