पोखरा-
वार्ता र छलफल सुरु भएसंगै पृथ्बीराजमार्ग वस संचालक समितिले हाल पोखरामा सहुलियत दरमा ल्याएको सेवा हाल स्थगीत भएको छ ।
समितिले पोखरा लक्षित गरी दुई दिनसम्म पोखरामा सहुलियत दरमा वस सेवा संचालन गरे पछि पोखरा वस व्यवसायी समितिसंग वार्ता र छलफल अघि बढेसंगै पोखरा क्षेत्रमा हाल दिएको सेवा स्थगित गरीएको पृथ्बीराजमार्ग वस संचालक समितिका महासचिव योगेन्द्र केसीले बताए । उनले भने “ हामी दुई समितिका पदाधिकारीहरुको वार्ता र छलफल चलिरहेको छ, यो वार्ताले निष्कर्ष ननिकाल्दा सम्म हामीले पुर्ववत रुपमा सेवा संचालन गर्ने सहमति गरेका छौं, सुक्रबार यातयात व्यवस्था कार्यालयमा अनौपचारीक रुपमा वार्ता भए पनि निष्कर्ष विहिन टुंगिएको छ ।” पोखरा वस व्यवसायी समिति र पृथ्बीराजराजमार्ग वस संचालक समितिको विवादले गर्दा पोखराका यात्रुहरुलाई पृथ्बीको गाडी चढ्दा दुई दिन १० रुपैयाले यात्रा गराईएको थियो ।
यता, पोखरा वस व्यवसायी समितिका महासचिव अमृत तिमिल्सिनाले हेम्जा गाविस पोखरामा गाभिएकोले त्यस क्षेत्रमा आफुहरुले स्थानीयको माग अनुसार सेवा दिन दिन पाउनु पर्ने बताए । पृथ्बीराजमार्गले राजमार्ग क्षेत्रमा लक्षित गरी सेवा संचालन गर्ने सहमति विपरित फेदी हुदै हरिचोकसम्म दिएको सेवा दिदै आएको समयमा पोखराको पृथ्बीचोकसम्म सेवा दिएकोले गुनासो गरे । आफुहरु सहमति र वार्ताबाटै जान चाहेको उनले जनाए ।
पोखरा वस व्यबसायी समितिले आफ्नो रुटमा सहमति विना गाडीहरु संचालन गरेको बिरोधमा आफुहरुले बाध्य भएर पोखरा क्षेत्रमा ४० वटा हाईस तथा दुई सापटे डिलक्स गाडीहरु बुधबार र विहिबार संचालनमा ल्याएको केसीले जनाए । आफुहरुले विगत १५ बर्ष देखि हेम्जाको फेदी हुदै पोखरासम्म सेवा दिदै आएको समयमा एकाएक सहमति विना पोखरा वस व्यवसायी समितिले फेदी हुदै पोखरा सम्मको रुटमा वसहरु संचालन गरेकोले त्यसको बिरोधमा आफुहरुले पोखरा क्षेत्रमा लक्षित गरी गाडीहरु संचालनमा ल्याएको महासचिव केसीले जनाए ।
पोखरामा केहि समय अघि विन्ध्यवासीनी वस व्यवसायी समितिले करीब ३४ वटा वस संचालनमा ल्याएको थियो । पोखरा वसले करीब २ सय ५० भन्दा बढी वस सेवा संचालनमा ल्याएको छ भने पुनः पृथ्बीले यहाँ वस थप्दा पोखराको मुख्य चोकहरुमा ट्राफिक जाम हुने पोखरेलीहरुले गुनासो गरेका थिए ।





