
गोरखा । गोरखास्थित गोरखनाथ कालिका मन्दिरको प्रचार–प्रसार गर्दै धार्मिक पर्यटक भित्र्याउन गोरखाबाट गोरखपुरसम्म ‘खिचडी यात्रा’ गरिने भएको छ ।
भारतको उत्तर प्रदेशका भारतीय पर्यटकलाई गोरखा भित्र्याउन गोरखाको गोरखनाथ मन्दिरबाट गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्म एक सय आठ जनाको सहभागितामा धार्मिकयात्रा गर्न लागिएको हो ।
“धार्मिक हिसाबले दुवै ठाउँमा रहेको गोरखनाथको महत्व उस्तै छ”, संयोजक बस्न्यातले भने, ‘‘धार्मिक दृष्टिकोण दुवै ठाउँलाई जोड्न सके र त्यहाँका झण्डै २४ करोड जनतालाई गोरखाको गोरखानाथसँगको सम्बन्धका बारेमा जानकारी गराउन सके त्यहाँका धार्मिक पर्यटकलाई गोरखा ल्याउन सकिन्छ ।” गोरखाको धार्मिक टोली यही पुस २९ गते गोरखपुरको यात्रामा निस्कने उनको भनाइ छ ।
गोरखाको गोरखनाथ कालिका मन्दिरबाट खिचडी पठाउन छाडेपछि गोरखापुरको गोरखनाथमा नेपाली भूमिबाट थोरै चामल, घ्यू, नुन, मासको दाल, बेसारलगायतका खाद्यवस्तु लगेर गोरखाको गोरखनाथबाट ल्याएको सम्झिएर चढाउने गरेको त्यहाँका पुजारीले जानकारी दिएको उनको भनाइ छ ।
परम्परागत धार्मिक तथा सांस्कृतिक परम्पराको जगर्ने गर्न सुरु गरिएको यस संस्कृतिले गोरखामा धार्मिक पर्यटन भित्र्याउन महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।
खिचडी पुर्याउने परम्पराको पुनः थालनी गरेसँगै उत्तर प्रदेश र गोरखाबीचको धार्मिक सम्बन्ध अझै बलियो हुँदै जाने र यसले गोरखा जिल्लाभित्रका लाखौँ धार्मिक पर्यटक भित्र्याउन सकिने संयोजक बस्न्याले बताए।





