
-नगेन्द्र शर्मा भण्डारी/हरिप्रसाद भण्डारी
गण्डकी प्रदेशको पहिलो र सबैभन्दा पुरानो मन्दिर हरिहर मन्दिरको स्थापना कहाँ कहिले के कसरी भयो ट्याक्क एकिन छैन तर शास्त्रका अनुसार भगवान प्रशुरामको छोरा भागवत शर्माले यो मन्दिर पुन निर्माण गरेको भन्नेछ । आनन्द रामायणको यात्रा काण्डको अनुसार राम सीता यहाँ हरिहरको दर्शन गर्न आएको कुरा प्रष्ट लेखिएको छ । यहाँको मेला कहिलेदेखि के कसरी लाग्न शुरु भयो यसको पनि कुनै सुरु प्रमाण अहिलेसम्म पाउन सकिएको छैन । भनाइ अनुसार मानव भन्दा पहिला यहाँ स्वर्ग लगायत विभिन्न लोकबाट सबै भगवान देवी देवता ब्रह्मा विष्णु महेश्वर माघ १ गते हरिहरको दर्शन गर्न आउने कुरा प्रचलित छ ।
मान्यता अनुसार हरिहर भगवानले ज्योती स्वरुपमा माघ १ गते दर्शन दिने भएको कारण यहाँ हरिहर भगवानको दर्शनका लागि मानिस आउने गर्छन् । हरिहर भगवानको कुनै स्वरुप छैन तर पृथ्वीमा शिव र विष्णुको आधाआधा स्वरुपमा भगवानलाई पुज्ने गरिन्छ । अन्यत्र पनि हरिहर भगवानको मुर्ति पूजा हुन्छ तर त्यहाँ हरिहरको मुर्तिमा मात्र ४ हात हुन्छन् तर यहाँको मुर्तिमा ८ हात छन् । तसर्थ यहाँ पूरै विष्णु र पूरै शिवको संयुक्त स्वरुपमा हरिहरलाई पुजिन्छ ।
आज विज्ञानले भन्ने गरेको पुष्टि गरेको खोज गरेको अन्तिम भनेको ब्ल्याक होल हो । हाम्रो शास्त्रीय मान्यता अनुसार ब्ल्याक होल भन्दा १० गुणा ठूलो लेयर महत्वको छ र हरिहर भगवानले यसको नेतृत्व गर्नुहुन्छ । पृथ्वी र हाम्रो ब्रम्हाण्ड कुनै पनि देवी देवता त्यो ब्ल्याक होल पार गरेर हरिहर भगवानको दर्शन गर्न जान सक्दैनन् । तसर्थ वर्षमा एक पटक यहाँ आएर हरिहरको दर्शन गर्ने गर्छन् भन्ने मान्यताका साथ सबै भक्तालु तिर्थालु यहाँ आउन सुरु भयो ।
स्वस्थानीका राजा नवराजलाई दर्शन दिनुभएको हरिहर अन्यत्र कहि नभएर यहि हो तर अहिले शालिनदी भन्ने हल्ला छ । ७ सय वर्ष भन्दा पुरानो ओरिजिनल स्वस्थानी व्रत विधि दुई दिन एक रातको छ र त्यो विधि यहाँमात्र गर्न सकिने भएको कारण मानिस अघिल्लो दिन आउने स्वस्थानीको व्रत गर्ने र भोलिपल्ट जाने गर्दथे । तर अहिले त्यो स्वस्थानी किताब नै पाउन छाडियो र एक महिने व्रत विधि आयो । शास्त्रीय मान्यताअनुसार यो ब्रहााण्ड मै यो भन्दा उत्कृष्ट तीर्थस्थल अन्यत्र कहीँ छैन र यो कुरा सेती गण्डकी महात्मयमा लेखिएको छ । तर त्यो सेती गण्डकी महात्मय अहिले पाइँदैन । ब्ल्याक होलबाट बाहिर निस्कन सक्ने भगवान अहिलेसम्म कृष्ण भगवान मात्र रहेको कुरा महाभारत जस्ता ग्रन्थले पुष्टि गर्छन र उहाँ विष्णुको होइन महाविष्णुको अंश रहेको विश्वास गरिन्छ । ब्लयाक होलको नेतृत्व महाबिष्णुले गर्नुहुन्छ ।
यसरी हेर्दा,
१) ब्रम्हा, विष्णु, महेश्वरसमेत दर्शनको लालयित हुने भगवानको नाम हरिहर भगवान हो भनेर बुझौं र हरिहर भगवानले ज्योति स्वरुपमा माघ १ गते दर्शन दिने हुँदा सारा ब्रम्हााण्ड कै भगवान देवी देवता यहाँ ढुङ्गेसाँघु आउने गर्छन । र हामीलाई सो दिन सबै भगवानको दर्शन एकसाथ मिल्ने गर्दछ । त्यस कारण माघ १ गते ढुङ्गेसाँघुको विशेष महत्व छ ।
२) स्वस्थानीको पुस्तक अनुसार स्वस्थानी व्रत दुई दिन एक रातको छ र त्यो यहाँ मात्र सम्भव छ तसर्थ भक्तालुहरु यहाँ आउने गर्छन् ।
३) शास्त्रका अनुसार ब्रह्माण्डमै यो भन्दा उत्तम तीर्थस्थल अन्यत्र नभएको कारण सो दिन तिर्थालु आउने गर्दछन् ।
४) देशकै पुरानो मन्दिरहरु मध्येमा एक मन्दिर हरिहर मन्दिर भएको कारण तिर्थालुहरु आउने गर्छन । कास्कीको पहिलो संस्कृत आश्रम यहाँ रहेको थियो । जस्को कारण कास्कीमै पहिलो राजगुठी पाउने मन्दिर पनि यहि हो र त्यतिबेला लालमोहर लगाउँदा समेत सिद्ध गुफा बेद विद्याश्रम भनेर लेखिएको छ ।
ज्योति स्वरुप हरिहरलाई के कहिले किन कसरी शिव र विष्णु स्वरुपमा पुज्न शुरु गरियो भनेर भन्ने हो भने श्रृष्टिको सुरुवातमा मानव कल्याणको जिम्मेवारी शिवलाई दिने भनी शिव घोर तपस्यामा जानुभएको र आउदा सो जिम्मेवारी विष्णु भगवानले पाएको देखपछि शिव रिसाएर युद्ध भएको र यो युद्ध दशौं हजार वर्षसम्म निरन्तर चलेको र रोकिँदै नरोकिएपछि ब्रम्ह्राले हजुरहरु दुवैलाई अब धर्तिमा हरिहर स्वरुपमा संयुक्त पुजिनेछ युद्ध रोक्नु होस् भनी भनेको हुँदा र आफूहरु हरिहर नामबाट पुजिने भएको कारण खुसी हुँदै युद्ध रोकिएको र त्यहीबाट ज्योति स्वरुपमा दर्शन दिने हरिहर भगवानलाई पुज्दा शिव र विष्णु स्वरुपमा पुजिएको हो ।

राजा मानदेव यहाँको मेलामा आउँदा मानिसले सामान बोकेर ल्याएको अनि साट्फेर गरि बोकेर लगेको देख्दा यो दुःखको हरण कसरी गर्ने भन्ने चिन्ता लिएकोले पैसाको शुरुवात भएको कुरा सबैलाई थाहा भएकै कुरा हो । यो ढुङ्गेसाँघु जात्रा मेलाको पनि मेला हो । यो संस्कृतिको उद्गम स्थल हो । नेपालकै ऐतिहासिक सांस्कृतिक धरोहर यो जात्राको संरक्षण गर्न सबैको साथ सहयोग आवश्यक रहेको छ ।
बुढापाका र पूर्वजहरुका भनाई अनुसार बाइसे चौबिसे राजाका पालामा कास्कीका राजा कुलमण्डन शाहका वडा गुरु सदा शिवले सिद्धेश्वर हरिहरको पूजा गर्दा शिवजीको प्रत्यक्ष दर्शन पाएका र राजा कुलमण्डनलाई त्यसको सविस्तार सुनाएपछि वि.स. १८६४ साल तिर दुवै जना सिद्धेश्वर हरिहरको दर्शन गर्न आई सीतापाइला क्षेत्रमा सिद्धेश्वर हरिहरको मन्दिर निर्माण गराई पोखरा–१७ विरौटामा २५ रोपनी १२ आना धानखेत जग्गा सिद्धेश्वर हरिहर मन्दिरकै नाममा व्यवस्था गराई सिद्धेश्वर हरिहरको पूजा नित्य चलाउनु भएको पनि थियो । पूजा खर्चबाट बचत आयस्तामा पुजारी नियुक्त गरिएको रहेछ ।
त्रेतायुगमा रामसीताले यहाँआई सेती गंगामा स्नान गरी सिद्धेश्वर हरिहरको दर्शन गरेर मकर संक्रान्तिका दिनमा पिपलको बोटमुनि चौतारीमा बसी च्यूरा, गुड, तरुल शखरखण्ड, ध्युको खाजा खाएका हुनाले प्रत्येक वर्ष माघे संक्रान्तिमा यहाँ मेला लाग्ने गर्दछ । ध्यू, चिउरा, गुँड, तरुल जस्ता वस्तु मेलामा आउनेले खाने गर्छन् । सीताले टेकेर डाम बनेको पाइलाको नमुनाको ढुङ्गा भेटिएकोले सीतापाइला भन्ने गरि फूलपाती चढाउने गरिन्छ । त्यसैकारणले यो क्षेत्रको नाम पनि सीतापाइला हरिहर क्षेत्र भन्ने चल्दै आएको छ । सेती नदीमा सीताले स्नान गरेको घाट हुनाले सीता घाट भन्ने पनि गरिन्छ । माघे संक्रान्तिमा मकर मेला भर्न आउनेहरु सिद्धेश्वर हरिहर र सीता पाइला दर्शनका लागि सेती नदी वारपार गर्ने ढुङ्गाको साँघुबाट हिंड्नुपर्ने हुनाले ढुङ्गेसाँघुको मेला भन्न थालिएको हो । यहि ढुङ्गेसाँघु नजिकै प्राकृतिक स्वतः बनेको छ । पहिल पनि पृथ्वीनारयाण २०२९ तिर शाहले सिद्धेश्वरको पूजा गर्न लगाएका थिए भन्ने भनाई पनि छ । राजा महेन्द्रले पनि २०३१ सालमा सिद्धेश्वर हरिहरको पूजा गरी सीतापाइला भएको चौतारालाई पक्की बनाउन लगाएका थिए । २०४३ सालमा सूर्य बहादुर केसीको सहयोगबाट राम सीता मन्दिर निर्माण भएको थियो । २०४५ सालमा जनसहयोगबाट पाटी (पौवा) पनि बनाइयो । २०४५ सालमा योगी नरहरिनाथले कोटीहोम गराई सदा शिवजी सिद्धेश्वर हरिहरको पूजा नित्य सञ्चालन हुने व्यवस्था भएर आएको छ ।

२०५६ सालमा जनसहयोगबाट सीताघाट जानेबाटो नजिक गुफामा अकला देवीको स्थापना गरिएको छ । तीर्थालु भक्तजनहरु सीता घाटमा गई गंगा स्नान गरी हरिहर भगवानको दर्शन गरी ईच्छा पूरा भएको मनोकांक्ष विश्वास पनि छ । यी विभिन्न इतिहासले ढुङ्गसाँघुको मेला यसरी नै चलि आएको छ भन्ने बुझिन्छ । भक्तजनहरु भजन कीर्तन नाँचगान गर्दै धुनिबाल्ने काम पनि हुन्छ । र मेलामा आउने भक्तजनहरुले आफूलाई चाहिने कृषि औजार, कुटो, कोदालो, नाङ्ला, मान्द्रा, डोको, खुदो, चिउरा, उखु, बदाम, सखरखण्ड, डोरी आदि सामानको किनबेच हुने गर्दछ । हाल आएर केही परिवर्तन भएको देखिन्छ । लत्ताकपडा व्यापार, व्यवसायिक स्टलहरु, खेलकुद कार्यक्रम, भजनकीर्तन, कृषि प्रदर्शनी लगायतका मेलामा हुने गर्दछ । यसरी नै ढुङ्गेसाँघु मेलाको इतिहास चलि आएको छ ।
यसरी नै विभिन्न समितिमा रहेर पूर्व अध्यक्ष तथा निवर्तमान अध्यक्षहरुले यस धार्मिक तथा पर्यटकीय क्षेत्रलाई उल्लेखनीय कार्य गर्दै आउनु भएको छ । वर्तमान व्यवस्थापन समिति २०७६ फाल्गुण २४ गते बाट आए देखि धेरै कार्य प्रगतिहरु भएका छन् । जस्तैः मुख्य प्रवेशद्वार, हरिहर मन्दिर र शिव मन्दिर मार्ग, विवाह तथा पितृ श्राद्ध मन्डप, हनुमान मुर्ति स्थापना, १०८ जलधारा र १०८ शिव लिङ्ग निर्माण मन्दिर क्षेत्रमा सिसि क्यामरा जडान, प्रवेशद्वार निर्माण, मन्दिर पर्खाल, पानी बोरिङ्ग पानी ट्याङ्की, सभाहल, नाला, अफिस तथा कोठा रङ्गरोगन, १०० मिटर फुट ट्रयाक निर्माण, अकला मन्दिरमा बाटो निर्माण, पाहुना बस्ने कोठा, विद्युतीय पोल लाइन विस्तार, गौशाला, पार्किङ्ग गेट, ४ कोठाको शौचालय, अकला गेट निर्माण यी सबै कार्यहरु हरिहर मन्दिर व्यवस्थापन समिति र आम सहयोगी दाताहरुबाट पनि सम्भव भएका हुन् ।
(लेखक भण्डारीद्वय सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष र सचिव हुनुहुन्छ ।)





