सर्वसिद्धिधाम पञ्चकोटमा विश्वशान्ति गण्डकी महासभा : शालिग्राम शिला संरक्षणमा जोड

बागलुङ । विश्वशान्ति गण्डकी महासभामा बोल्ने विद्वत वक्ताले कालीगण्डकी नदी र यस नदी क्षेत्रमा मात्र पाइने शालिग्राम शिलाको संरक्षणमा जोड दिएका छन् ।

बागलुङ नगरपालिका-६ स्थित विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा आयोजित ३०औँ गण्डकी महासभामा वक्ताले प्राकृतिक स्रोतमाथि भइरहेको दोहनले प्राणी जगत् सङ्कटमा पर्ने भन्दै चिन्ता व्यक्त गरे ।

विश्वहिन्दू महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष शङ्कर खरालले कालीगण्डकी नदीमात्र नभएर सभ्यता भएको बताए । उनले कालीगण्डकीको उद्गमस्थल दामोदर कुण्ड मानव विकासक्रमसँग जोडिएको उल्लेख गरे ।

गण्डकी महासभाका प्रवक्ता सुदर्शन आचार्यले कालीगण्डकी नदी र यस आसपासका तीर्थस्थलको ऐतिहासिक पृष्ठभूमि र महिमा रहेको बताए ।

“यो ऋषिमुनि र महर्षीले तपस्या गरेको पुण्यभूमि हो, धर्मग्रन्थ र पुराणमा समेत यस क्षेत्रको वर्णन छ”, उनले भने, “शालिग्राम पाइने विश्वकै एकमात्र नदी कालीगण्डकी यही मुक्तिक्षेत्र भएर बग्छिन् ।”

गण्डकी महासभाको मूल उद्देश्य कालीगण्डकी नदी बचाउनु रहेको बताउँदै प्रवक्ता आचार्यले पूर्वी नेपालमा कोशी सभ्यता र पश्चिममा कर्णाली सभ्यता भएझैँ मध्यनेपालमा गण्डकी सभ्यता रहेको उल्लेख गरे ।

“कालीगण्डकी नदी सङ्कटमा परे सिङ्गो गण्डकी सभ्यता नै हराउने छ । त्यसैले जनस्तरसम्म सचेतना विस्तार गर्दै सरोकार भएका पक्षलाई कालीगण्डकी नदी र शालिग्राम संरक्षणमा जिम्मेवार बन्न दबाब दिने उद्देश्यले गण्डकी महासभा आयोजना गरिएको हो”, प्रवक्ता आचार्यले भने ।

उनले गण्डकी प्रदेशका ११ जिल्ला र ८५ वटै स्थानीय तहमा गण्डकी महासभा सञ्चालन गरिने बताए ।

हालसम्म बागलुङ, पर्वत, म्याग्दी, कास्की, तनहुँलगायत जिल्लामा महासभा आयोजना गरिएको पञ्चकोट विकास परिषद्ले जनाएको छ ।

परिसद्का अध्यक्ष जगन्नाथ आचार्यले जल, जमिन र जङ्गलबिना प्राणी जगतकाे अस्तित्व नरहने भन्दै उनले तिनको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

नेपालको हिमालय क्षेत्र हुँदै बग्ने नदी विश्वका दुई अर्ब मानिसको पानीको स्रोत रहेको भन्दै विज्ञले पनि कालीगण्डकीलगायत नदीको संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै आएका छन् ।

कालीगण्डकीको दोहनले यहाँको सौन्दर्य र सभ्यतामात्र नासिने नभई समग्र मानव-प्रकृति चक्रलाई खल्बल्याउने भएकाले संरक्षण अभियान चलाउनुपरेको अभियानकर्मीले बताएका छन् ।

धार्मिक, सांस्कृतिक गरिमा, जैविक र प्राकृतिक विविधतासँगै मानिसको जीविकासँग पनि जोडिएको कालीगण्डकी नदीलाई आफ्नै प्राकृतिक स्वरुपमा बग्न दिनुपर्ने उनीहरुको माग छ ।

हिन्दू धर्मसंस्कारमा विष्णु भगवानको अवतारका रूपमा पूजिने शालिग्राम पाइने विश्वकै एकमात्र नदी भएकाले कालीगण्डकी धर्मप्रेमीका लागि पनि पवित्रस्थल मानिन्छ ।

हिमालय क्षेत्रको दामोदरकुण्ड, मुस्ताङको मुक्तिक्षेत्र हुँदै दक्षिण बग्ने कालीगण्डकी देशको मध्यभागको प्रमुख नदी प्रणाली हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button