सार्वजनिक यातायात बन्दले गण्डकीमा सर्वसाधारण मारमा, पर्सिदेखि देशभर बन्दको चेतावनी

पोखरा । पोखरासहित गण्डकीमा दुई दिनदेखि सार्वजनिक यातायात सेवा ठप्प हुँदा सर्वसाधारण तथा पर्यटक मारमा परेका छन् ।

राइड सेयरिङ र सेल्फ ड्राइभलाई कानुनी मान्यता दिने गरी प्रदेश सरकारले जारी गरेको नियमावलीको खारेजीको माग गर्दै यातायात व्यवसायीले सार्वजनिक सवारीसाधन चलाउन बन्द गरेका कारण छोटो तथा लामो दुरीका यात्रु समस्यामा परेका हुन् ।

यातायात व्यवसायीले शुक्रबार बिहानैदेखि बस, ट्याक्सी तथा ढुवानी सेवा प्रदान गर्ने सार्वजनिक सवारीसाधनहरू घर ग्यारेजमै थन्क्याएका छन् । जसका कारण स्थानीय स्तरमा सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भएको छ । लामो दुरीका यात्रुहरू गण्डकी प्रदेश छिर्ने नाकाहरूमा अलपत्र परेका छन् ।

व्यवसायीको आन्दोलनका कारण पोखरा भित्रिएका आन्तरिक पर्यटकहरू फिर्ता जान सकेका छैनन् । विदेशी पर्यटकहरू टुरिस्ट बस र हरियो प्लेट भएका सवारीसाधनमार्फत आवतजावत गरेको भए पनि नेपाली पर्यटक बोक्ने सवारीलाई आन्दोलनमा उत्रिएका व्यवसायीले रोक्ने तथा फिर्ता पठाउने गरेको एक पर्यटन व्यवसायीले बताए।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीको नेतृत्वमा गण्डकी प्रदेशभित्र आन्दोलन थालेका व्यवसायी भने आफ्नो माग पुरा नभए जेठ १९ गतेदेखि नेपाल बन्द गर्ने चेतावनी दिएका छन् ।

महासंघ गण्डकीका सचिव योगेन्द्र बहादुर केसीले पर्सिदेखि सातै प्रदेशमा आन्दोलन गरी नेपाल बन्द गर्ने चेतावनी दिए । ” आज र भोलि गण्डकी प्रदेशभर हाम्रो आन्दोलन जारी रहन्छ । पर्सिदेखि नेपाल बन्द हो । पर्सिदेखि सातै प्रदेशमा यातायात ठप्प हुन्छ ।

आन्दोलन सङ्घर्ष समितिको प्रवक्ता समेत रहेका केसीले विभिन्न ७ बुँदे माग राखी यातायात व्यवसायीहरू अनिश्चितकालिन आन्दोलनमा उत्रिएको भन्दै माग पुरा नभएसम्म आन्दोलन जारी रहने बताए ।

प्रदेश सरकारले ल्याएको नियमावली खारेज गर्नुपर्ने मागसहित व्यवसायीले आफ्ना सवारीसाधन घर ग्यारेज गरेर शान्तिपूर्ण आन्दोलन गरेको केसीको भनाई छ । रातो प्लेटका सवारीसाधन, पर्यटक बोक्ने सवारीसाधन, एम्बुलेन्स, स्कुल बस संचालनमा अवरोध नभएको केसीको दाबी छ । पर्यटक बोक्ने सवारीसाधनमा भने नेपाली यात्रु ओसारपसार गर्ने नदिने उनले बताए ।

सार्वजनिक यातायात व्यवसायीहरूले आज देशव्यापी रूपमा एक घण्टा चक्काजाम समेत गरेका छन् । सरकार सार्वजनिक यातायात क्षेत्र अस्तव्यस्त पार्न लागिपरेको आरोप यातायात व्यवसायीहरूको छ ।

गण्डकी प्रदेश सरकारले गत जेठ १ मा राइड सेयरिङलाई नियमन र व्यवस्थापन गर्न ल्याएको राइड सेयरिङ नियमन र व्यवस्थापन नियमावली २०८२ प्रदेश राजपत्रमा प्रकाशित गरेको थियो ।

यसअघि पनि गण्डकीमा राइड सेयरिङ सम्बन्धी कार्यविधि जारी गर्ने तयारी हुँदा सार्वजनिक यातायात व्यवसायी आन्दोलनमा उत्रिएका थिए । प्रदेश सरकारले अहिले कार्यविधि नभई राइड सेयरिङ सम्बन्धी छुट्टै नियमावली जारी गरेर कानुनी प्रक्रिया अगाडि बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button