पोखरामा ब्राउन सुगर र ९ लाख नगदसहित युवती पक्राउ

पोखरा । कास्की प्रहरीले पोखराबाट ठूलो परिमाणमा लागूऔषध ब्राउन सुगर र नगदसहित एक युवतीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लमजुङ मध्यनेपाल नगरपालिका–६ स्थायी घर भई हाल पोखरा–११ फूलवारी भानुमार्गमा डेरागरी बस्दै आएकी २७ वर्षीया मन्दिरा मगर रहेको प्रहरीले जनाएको छ ।

मन्दिराको कोठामा खानतलासी गर्दा खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने पदार्थ १०२.३७ ग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर गणेश पाण्डेले जानकारी दिए ।

बिहीबार दिउँसो करिब ३ बजे गरिएको खानतलासीका क्रममा नगद ९ लाख रुपैयाँ, डिजिटल तराजु एक थान र एक थान मोबाइल समेत फेला पारेको इन्स्पेक्टर पाण्डेले जनाएका छन् ।

पोखरा –११ फूलवारीमा लागू औषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त सफलता हात पारेको हो।

पक्राउ परेकी मगरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको इन्स्पेक्टर पाण्डेले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button