
पोखरा । पोखरामा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। पोखरा –१७ छोरेपाटनस्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा १४ वर्षीय स्वहेन नेपालीको डुबेर मृत्यु भएको हो।
पोखरा–१७ ड्यामसाइड बस्ने स्वहेन बिहीबार दिउँसो करिब २ः२५ बजे खोलामा डुबेर बेपत्ता भएको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी हेडक्वार्टर कालिका गण कास्कीबाट उद्धार टोली खटिएको थियो।
सशस्त्र प्रहरी निरीक्षक बिनोद पौडेलको कमाण्डमा १४ जनाको गोताखोरसहितको टोली घटनास्थलमा पुगेर खोजी गर्ने क्रममा करिब २० फिट गहिराइबाट बालकलाई अचेत अवस्थामा बाहिर निकालेको थियो।
उद्धारपछि उनलाई तत्काल उपचारका लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल गण्डकी लगिएकोमा उपचारकै क्रममा दिउँसो ५ः०५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।





