पोखरामा सिट क्षमताभन्दा अत्याधिक बढी विद्यार्थी बोक्ने ८ स्कुल बस कारबाहीमा

पोखरा । पोखरामा सिट क्षमताभन्दा अत्याधिक बढी विद्यार्थी राखेर सञ्चालन गरिएका ८ वटा विद्यालय बसका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की तथा मातहतका ट्राफिक इकाइहरूले विद्यालय बसलाई लक्षित गरी सञ्चालन गरेको विशेष अनुगमन तथा चेकजाँच अभियानका क्रममा नियम उल्लंघन गर्ने ८ वटा बसका चालकलाई प्रचलित कानुनबमोजिम कारबाही गरिएको हो।

कार्यालयका अनुसार ती बसहरूले तोकिएको सिट क्षमताभन्दा अत्याधिक बढी विद्यार्थी राखेर सवारी सञ्चालन गरेको पाइएको थियो। यसले विद्यार्थीको सुरक्षामा गम्भीर जोखिम बढाउने भएकाले तत्काल कानुनी कारबाही गरिएको कार्यालयले जनाएको छ।

कारबाहीसँगै सम्बन्धित विद्यालय प्रशासनसँग समन्वय गरी क्षमताभन्दा बढी रहेका विद्यार्थीलाई अर्को बसमार्फत सुरक्षित रूपमा गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाइएको  प्रहरीले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले  विद्यालय तथा बस सञ्चालकलाई सिट क्षमताभन्दा बढी विद्यार्थी नराख्न, सवारी साधनको प्राविधिक अवस्था दुरुस्त राख्न र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button