ब्राउन सुगर र ६ लाख नगदसहित पोखरामा दाजुभाई पक्राउ

पोखरा । पोखरामा ब्राउन सुगर र स्रोत नखुलेको ६ लाखभन्दा बढी नगदसहित दाजुभाई पक्राउ परेका छन्।

पोखराको  उत्तमचोकमा लागूऔषध सेवन तथा खरिद–बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई बुधबार राति करिब ८:०५ बजे पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पोखरा –१० उत्तमचोक निवासी तथा पोखरा–१५ स्थित वडा कार्यालय अगाडि रहेको स्नुकर हाउसका सञ्चालक ३७ वर्षीय गोविन्द थापा (जोन) र उनका दाइ ३८ वर्षीय रुमबहादुर थापा (जीवन) रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी बिरेन्द्र कुमार पासवानले जानकारी दिए।

डिएसपी पासवानका अनुसार प्रहरीले उनीहरुको घर कोठामा कानुनी प्रक्रिया पूरा गरी खानतलासी गर्दा लुकाइछिपाइ राखिएको प्लास्टिकसहित १३ ग्राम खैरो हिरोइन (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ तथा स्रोत नखुलेको नेपाली ६ लाख ७ हजार रुपैयाँ नगद बरामद गरेको जनाएको छ।

बरामद गरिएको लागूऔषध र नगदसहित दाजुभाइलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button