पोखरा म्याराथनको पुरस्कार राशि दोब्बर

पोखरा न्यूज – १४, पुष ।  सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको पुरस्कार राशिमा वृद्धि गरिएको छ ।

भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा वर्षेनी आयोजना गर्दै आएको म्याराथन प्रतियोगितामा पुरस्कार राशि  वृद्धि गरेर  दोब्बर पुर्याइएको हो ।

प्रतियोगिताको विजेतालाई यसअघी १ लाख दिइएकोमा यस वर्ष रु २ लाख पुरस्कार प्रदान गरिने भएको पोखरामा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः रु एक लाख, रु ७५ हजार र रु १५ हजार पुरस्कार प्रदान गरिनेछ ।

दक्षिण एशियाली मुलुकबाट व्यावसायिक धावकको सहभागिता वृद्धि गर्ने उद्देश्यले पुरस्कार राशिमा वृद्धि गरिएको संस्थाका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए । पोखरामा खेल पर्यटनको प्रवद्र्धन तथा नेपाल भ्रमण वर्ष २०२० लाई प्रतियोगिताले सघाउनेछ । प्रतियोगितामा पुरुष तथा महिला १० किमी दौडमा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु १५, रु १० र रु पाँच हजार प्रदान गरिनेछ ।

पाँच किमी छात्र/छात्रा दौडमा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु १० हजार, रु सात र रु चार हजार दिइनेछ । ह्विलचियर पुरुष तथा महिला र दृष्टिविहीन पुरुष तथा महिला दौडमा प्रथम, द्वितीय र तृतीयलाई पाँच, तीन र दुई हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

“विश्व परिवेशमा चर्चित शहरको नाममा आयोजना हुँदै आएको सिटी म्याराथनको अवधारणाअनुरुप पर्यटकीय शहर पोखरालाई खेलकुदको विश्व मानचित्रमा स्थापित गराउँदै पर्यटन प्रवर्द्धन गर्ने प्रतियोगिताको प्रमुख लक्ष्य हो,” अध्यक्ष गुरुङले भने ।

प्रतियोगिताको तयारीका लागि विभिन्न २१ उपसमिति गठन गरी कार्य अघि बढाइएको पोखरेली मञ्च युके, हङकङ निवासी नेपाली समूदाय, सहारा यूके, नेपाली समाज बोस्टनलगायतका खेलप्रेमीबाट सहयोगको प्रतिबद्धता प्राप्त भएकाले यस संस्करण विगतको भन्दा भव्य हुने आयोजकको दावी छ ।

प्रतियोगितामा सहभागीताका लागि बङ्गलादेश, भारत, श्रीलङ्का तथा पोखरा महानगरबाट भगिनी सम्बन्ध कायम भएका जापानको कोमागाने र चीनका केही शहरमा पत्राचार गरिएको र सहभागी हुने आश्वासन प्राप्त भएको मञ्चका उपाध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए । यसवर्ष प्रतियोगितामा करिब सात हजारको हाराहारीमा सहभागिता रहने विश्वास आयोजकको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button