पश्चिमाञ्चल होटल संघद्वारा कार्यकारी अधिकृतको स्वागत

पोखरा, १ पुस –

पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले आफु नगरवासीसँग विकासका काममा सहकार्य गरेर अगाडि बढ्न इच्छुक रहेको बताएका छन् ।

पश्चिमाञ्चल होटल संघ पोखराले उनको स्वागत र सम्मानमा हालै लेकसाइडमा आयोजना गरेको कार्यक्रममा बोल्दै अधिकारीले विकासमा सहकार्य गरेर अगाडि बढे त्यस्तो विकास दिगो हुने भनाई राखे । पोखरा उपमहानरपालिका विकास निर्माणका काम र पोखराको पर्यटन प्रवद्र्धनका काममा संघसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको पनि कार्यकारी अधिकृत अधिकारीले बताए । अधिकारी यसअघि पनि पोखरा उपमहानगरपालिकाको कार्यकारी अधिकृत रही सकेका थिए । फेवा ताल वरपर साइकल मार्ग र पदयात्रा मार्गको निर्माण, नगरमा सौर्य बत्ती विस्तार, फेवा तालको संरक्षण, सडकमार्गको विस्तार लगायतका कामलाई आफूले जनताको साझेदारीमा अगाडि बढाउने उनले सो अवसरमा प्रतिबद्धता व्यक्त गरे ।

संघका अध्यक्ष भरतराज पराजुलीले पोखरामा सौर्य बत्ती जडान, फोहोरमैला व्यवस्थापन, एसियाली विकास बैंकको कालो सूचीबाट पोखरालाई मुक्त गर्न कार्यकारी अधिकृत अधिकारीले यसअघि उल्लेखनीय र सकारात्मक भूमिका खेलेको बताए । यसैगरी छाडा चौपायको नियन्त्रण र पर्यटनको विकासमा समेत अधिकारीले गरेको कामको पराजुलीले प्रशंशा गरे । कार्यक्रममा फेवा तालबाट जलकमुम्भी झार हटाउने र त्यहाँको माटो हटाउने मेशिन ल्याउन, हल्लनचोक क्षेत्रमा पर्यटन सूचना केन्द्र राख्न, मालपोत नजिकको पुललाई सुरक्षित र भरपर्दो बनाउन माग पनि गरिएको थियो ।

सो अवसरमा संघका सल्लाहकारहरु गोविन्दराज पहारी, सुन्दरकुमार श्रेष्ठ, बच्चुराम तिवारी, लक्ष्मीवहादुर भट्टराई, संघका प्रथम उपाध्यक्ष विकल तुलाचन, तालिमका सहभागी एवं नेपाल पर्यटन वोर्डका पूर्व सदस्य वासुदेव त्रिपाठी, अर्की सहभागी उर्मिला श्रेष्ठ, टोल विकास समवन्वय समितिका संयोजक गिरिराज अधिकारी र तालिमकी प्रशिक्षक नेदरल्याण्डकी एनी मिटेरडोरफरले पनि आफ्ना भनाई राखेका थिए ।

सो अवसरमा तालिमका प्रशिक्षार्थीलाई कार्यकारी अधिकृत अधिकारीले प्रमाणपत्र वितरण गरेका थिए । नेदरल्याण्ड स्थित पुम नामक विज्ञहरुको संस्थाको सहकार्यमा सुरु भएको चार दिने पर्यटन तथा होटल व्यवस्थापन तालिममा पोखरा स्थित विभिन्न होटलका संचालक, व्यवस्थाक एवं कर्मचारी गरी ४० जनाको सहभागिता रहेको तालिम संयोजक एवं संघका द्वितीय उपाध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । नेपाल पर्यटन वोर्डले कार्यक्रमलाई सघाएको थियो । कार्यक्रमको संचालन संघका महासचिव भेकेन्द्रकुमार श्रेष्ठले गरेका थिए ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button