अमेरीकन राजदुत टेप्लिजद्वारा रेडियो अन्नपूर्णको अवलोकन

  • पोखरा न्यूज
  • २०७२ पौष १
अमेरीकन राजदुत टेप्लिजद्वारा रेडियो अन्नपूर्णको अवलोकन

पोखरा, १ पुष –

नेपालका लागि अमेरीकन राजदुत अलाईना बी टेप्लिजले बुधबार रेडियो अन्नपूर्णको अवलोकन गर्नुभएको छ । आफ्ना सहकर्मी समेत लिएर आउनुभएकी उहाँले रेडियोको समाचारकक्ष र ब्रोडकाष्टिङ्ग प्रक्रियाका बारेमा जानकारी लिनुभएको थियो ।

अवलोकनको क्रममा उहाँले मोफसलमा रेडियोको अवस्था, यसको प्रभावकारीता, नाकाबन्दी र लोडसेडिङ्गले पारेको असरका बारेमा जिज्ञासा राख्नुभएको थियो । सो अवसरमा रेडियोका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले रेडियोको बारेमा जानकारी दिनुभएको थियो । उहाँले रेडियोको लागि प्रस्तोता विमला थापालाई विशेष अन्र्तवार्ता पनि दिनुभएको थियो ।

अन्तरवार्तामा बोल्दै राजदुत टेप्लिजले अमेरिकी राजदूतावासको कार्यक्रम अवलोकन भ्रमणका लागि पोखरामा आएको जानकारी दिदैँ अहिलेको परिस्थितिलाई समाधान गर्न राजनीतिक दलहरुबीच छलफल भइरहेको र चाँडै समाधान हुनेमा आफू आशावादी रहेको बताउनुभयो ।

राजदुत टेप्लिजले नेपालमा राष्ट्रपति र सभामुख दुबैमा महिला हुनु भनेको नेपालीहरुको लागि सकारात्मक परिवर्तनको ढोका खोलेको धारणा राख्नुभयो । उहाँले नेपालको सबै क्षेत्रमा महिलाको पहुँच पुग्नेमा आफू आशावादी रहेको पनि बताउनुभयो ।

राजदुत टेप्लिजले भुकम्प प्रभावितहरुको लागि अमेरीकाले निरन्तर सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोग जारी राख्ने बताउनुभयो । उहाँले भारतसँग मिलेर नेपालले हाइड्रो पावर निर्माण गरेको खण्डमा नेपालको विकाशले फड्को मार्ने पनि विश्वास व्यक्त गर्नुभयो । पोखराको पर्यटनबारे विशेष चासो राख्दै राजदूत टेप्लिजले अमेरिकी नागरिकको लागि जारी गरिएको ट्राभल एडभाइजरीमा चाँडै सकारात्मक संशोधन गर्न पहल गर्ने बताउनुभयो ।

उहाँले नेपालको विकासका लागि पर्यटन, जलविद्युत र कृषिमा वैज्ञानिकीकरण गर्नुपर्नेमा जोड दिनुभयो । पहिलो चोटी पोखरा आउनुभएकी राजदूत टेप्लिजले आफू पोखराको प्राकृतिक सौन्दर्यबाट मोहित भएको बताउदैँ पोखराको विकासमा सक्दो सघाउने बताउनुभयो ।

अमेरिकी राजदूत टेप्लिजलाई रेडियोका अध्यक्ष विश्वशंकर पालिखे, प्रबन्ध निर्देशक सुनयना पालिखे लगायत अन्नपूर्णकर्मीले स्वागत गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस