व्यापार मेला सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन

  • पोखरा न्यूज
  • २०७२ पौष १८
Post Thumbnail

पोखरा, १८ पौष –

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा आउँदो फागुन २१ देखि चैत १ गतेसम्म आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेला –२०७२ को तयारी सुरु भएको छ ।

मेलालाई भव्य रुपले सम्पन्न गर्न संघका अध्यक्ष विन्दुकुमार थापाको अध्यक्षतामा २ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन भएको छ भने अध्यक्ष थापाकै अध्यक्षतामा कार्यसम्पादन समिति समेत गठन गरिएको छ । कार्यसम्पादन समितिमा संघका पदाधिकारी र कार्यसमिति सदस्यह सदस्यको रुपमा रहेका छन् भने पूर्व अध्यक्षहरुलाई सल्लाहकार मनोनयन गरिएको छ ।

यसैगरी मेला सम्पन्न गर्न विभिन्न २० वटा उपसमितिहरु गठन गरिएको महासचिव रवीन्द्रबहादुर प्रजुले जनाए । उनका अनुसार मेलाको अतिथी व्यवस्थापन उपसमितिमा निवर्तमान अध्यक्ष संजिवबहादुर कोइराला, प्रायोजक व्यवस्थापनमा प्रथम उपाध्यक्ष देव क्षेत्री, मेला तथा स्टल व्यवस्थापन उपसमितिमा द्धितीय उपाध्यक्ष मीनराज काफ्ले, प्रचार प्रसार उपसमितिमा महासचिव रवीन्द्रबहादुर प्रजु,व्यानर व्यवस्थापनमा उपमहासचिव प्रकाशदेव पालिखे, अर्थ, खाना तथा खाजा व्यवस्थापन उपसमितिमा कोषाध्यक्ष दीलिपराज श्रेष्ठ रहेका छन् । यसैगरी मेलाको बाल उद्यान, स्वास्थ्य व्यवस्थापन, प्रकाशन तथा उपहार, हस्तकला तथा कृषि व्यवस्थापन उपसमितिमा क्रमशःकार्यसमिति सदस्यहरु दामु अधिकारी, ईश्वर कर्माचार्य, नारायण कोइराला, र हीरा भट्टराई रहेका छन् । उता सुरक्षा व्यवस्थापनमा कार्य समिति सदस्य सीता गुरुङ, साँस्कृतिक कार्यक्रम व्यवस्थापनमा कार्यसमिति सदस्य मोहनबाबु खड्का, स्टेज तथा मूलद्धार व्यवस्थापन उपसमितिमा कार्यसमिति सदस्य विश्वशंकर पालिखे रहेका छन् ।

यसैगरी मेलाको पार्किङ, टिकट व्यवस्थापन, विद्युत तथा टेलिफोन व्यवस्थापन, वातावरण तथा सरसफाई र खानेपानी, पर्यटन, यातायात र स्थानीय समन्वय व्यवस्थापन उपसमितिमा क्रमशः कार्यसमिति सदस्यहरु अर्जुन पोखरेल, अमितराज मुल्मी, विन्दु कोइराला सुवेदी, बलराम आचार्य, मदन केसी सुनिल गुरुङ र पवनकुमार प्रजापतिले जिम्मेवारी लिएका छन् । उपसमितिहरुलाई पूर्णता दिने क्रम जारी रहेको र मेलालाई भव्य बनाउन कुनै कसर बाँकी नराखिने महासचिव प्रजुको भनाइ रहेको छ ।

पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पुरयाउने उदेश्यले मेलाको आयोजना गर्न लागिएको हो ।

राष्ट्रिय औद्योगिक व्यापार मेला २०७२ पोखराको आकर्षणको रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पूष्प मेला, अटामेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको गतिविधीहरुको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको बिक्री वितरण रहेका छन् ।

साथै मेलाको थप आकर्षणतर्फ लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त व्याण्डहरुको सांगितिक कार्यक्रम, लोकनृत्य प्रतियोगिता, प्रवेश टिकटमा दैनिक रुपले पुरस्कारको व्यवस्था, उत्कृष्ट स्टललाई पुरस्कार, चमेना गृहको व्यवस्था, बाल उद्यान तथा साथमा स्थापित हाँस्यकलाकारहरुद्वारा मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश गरिएको महासचिव प्रजुले जनाए ।

पोखरा उद्योग बाणिज्य संघले १८ वर्ष पहिला नेपालमै पहिलो पटक संस्थागत रुपले मेला र महोत्सवको अवधारणा भित्र्याएको हो । संघले सुरु गरेको अवधारणा अहिले देशब्यापी भएको छ । आर्थिक गतिविधी चलायमान बनाउन मेला र महोत्सव सहायक हुन्छ भन्ने सोचका कारण मेलाको अवधारणा ल्याइएको हो । मेला र महोत्सवहरु नूतन ब्यवसायीक सोचको विकास गराउन र उपभोक्ता र उत्पादकलाई एकै थलोमा ल्याउन सफल भएको पोखरा उद्योग वाणिज्य संघको ठम्याई रहेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस