१२ औ लेखनाथ महोत्सव सुरु

  • पोखरा न्यूज
  • २०७२ फागुन ५
१२ औ लेखनाथ महोत्सव सुरु

लेखनाथ, ०५ फागुन –

सूचना तथा संचार मन्त्री शेरधन राईले मुलुकको असहज परिस्थितिको अन्त्य भएकाले मुलुकका समृद्धिका लागि अवको एकमात्र एजेण्डा आर्थिक विकास भएको उल्लेख गरेका छन् ।

मन्त्री राईले १२ औं लेखनाथ महोत्सवको बुधबार लेखनाथमा उद्घाटन गर्दै, राष्ट्रिय स्वाधिनताका लागि कसैका सामु शिर नझुकाउँदा मुलुकवासीलाई केही पिडा भएको उल्लेख गरे । नेपाली जनताको शिर कसैको सामु निहुराएनौं मन्त्री राईले भने— ‘संविधान जारी भयो, देशको समृद्धिका लागि अवको एकमात्र एजेण्डा आर्थिक विकास हो । ” सरकारका प्रवक्ता समेत रहेका मन्त्री राईले असहज परिस्थितिबाट विग्रिएको मुलुकको आर्थिक अवस्था चार गुणा सुदृढ हुने गरी सरकारले कार्य गरेको बताए । उनले अव त्यसको भरपाई हुने गरी आर्थिक क्षेत्रमा काम हुनेमा जोड दिए ।

कार्यक्रममा मन्त्री राईले सरकार लगानी बातावरण बनाउन लागि परेको उल्लेख गर्दै, विकासका लागि अरुको मुख नताक्न समेत आग्रह गरे । उनले सरकारले अघि सारेको हाम्रो धरहरा हामी आफै बनाउँछौं भन्ने उद्घोषकै सिको गरेर हाम्रो लेखनाथ हामी बनाउँछौं भन्ने अभियान शुरु गर्न युवा उद्यमीहरुलाई सुझाव दिए । मन्त्री राईले लेखनाथको विकासका प्राथमिकताको वर्गिकरण गरेर योजना सहित सरकारलाई उपलब्ध गराउन आग्रह गर्दै, त्यसमा आफुले सहयोग गर्ने प्रतिवद्धता जनाए ।

महोत्सव लेखनाथको संस्कृति स्थानीय उत्पादन विकास र संमृद्धि भन्ने मुलनाराको साथ बुधबारदेखि १२ औ लेखनाथ महोत्सव लेखनाथ १ भण्डारढीक कास्कीमा शुरु भएको छ।महोत्सवको उद्घाटन गर्दै सूचना तथा सञ्चार मन्त्री शेरधन राईले मुलुकको समृद्धिका लागि आर्थिक विकास मुख्य एजेन्डा बनाईनुपर्नेमा जोड दिएका छन ।कार्यक्रममा बोल्दै मन्त्री राईले सरकार लगानी मैत्री वातावरण बनाउन लागी परेको र राष्ट निर्माणको एजेण्डामा अन्तराष्ट्रिय लगानी भित्र्याउने तर्फ केन्द्रीत रहेको बताएका थिए । मन्त्री राईले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै प्राकृतिक सम्पदाको संरक्षण गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा पूर्व स्वास्थ्य तथा जनसख्या मन्त्री खगराज अधिकारीले लेखनाथलाई व्यवस्थित शहरका रुपमा विकास गर्र्नु पर्नेमा जोड दिए । उनले विकासका नाउँमा राजनिति गर्न नहुने भन्दै, दोषारोपण र नकरात्मक टिप्पणीले विकास अवरुद्ध हुने उल्लेख गरे ।

नेपाल उद्योग बाणिज्य महासंघका प्रथम उपाध्यक्ष किशोर प्रधानले अघोषित नाकाबन्दीका कारण मुलुकको नीजि क्षेत्र धरासायी भएको उल्लेख गर्दै, व्यवसायीलाई राहत प्याकेज घोषणा गर्न माग गरे । उनले लगानी बातावरण र सुरक्षाको प्रत्याभूति दिलाउन समेत आग्रह गरे ।

लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षमतामा भएको कार्यक्रममा क्षेत्रिय प्रशासक शंकर कोइराला, सभासद् यज्ञवहादुर थापा, शारदा पौडेल, नेपाली काग्रेस कास्कीका सभापति कृष्ण के.सी, नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, एनेकपा माओवादी कास्कीका अध्यक्ष दिपक कोइराला, नेकपा माओवादीक कास्कीका सचिवालय सदस्य गोकुल पराजुली, लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोक वहादुर भण्डारी, महोत्सवका मुख्य प्रायोजक रुपाकोट रिसोर्टका संचालक पुष्प अधिकारी, स्याङजा उद्योग बाणिज्य संघका अध्यक्ष नवराज सुवेदी, पारालिगल कास्कीका अध्यक्ष कोपिला रानाभाट, संघका प्रथम उपाध्यक्ष कृष्णहरी भण्डारी लगायतले महोत्सवले शिथिल अर्थतन्त्रमा गतिशिल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । फागुन १६ गतेसम्म संचालन हुने महोत्सवका बुधार पहिलो दिन २० हजार दर्शकले अवलोकन गरेको र ५० लाख रुपैयाको कारोबार भएको आयोजकले अनुमान गरेका छन् ।

महोत्सवको उद्घाटन कार्यक्रममा लेखनाथ क्षेत्रका विभिन्न संघसंस्था, टोल विकास, आमा समूहले झाँकी तथा र्याली प्रदर्शन गरेका थिए ।महोत्सव लेखनाथको संस्कृति स्थानीय उत्पादन विकास र संमृद्धि भन्ने मुलनाराका साथ संचालन भएको महोत्सवमा विभिन्न बस्तु तथा उत्पादनका ३ सय भन्दा बढी स्टलहरु रहेका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस