पोखरा, २ जेठ-
पूर्व उद्योग तथा बाणिज्य सचिव पुरुषोत्तम ओझाले खरदारकहाँ गएर ङिच्च दाँत देखाउनु पर्ने बाध्यताका कारण नेपालमा उद्योगी-व्यवसायी हतोत्साही हुने गरेको बताएका छन् । उनले नेपालमा उद्योग-व्यवसाय दर्ता गर्ने झन्झटिलो व्यवस्था, कर्मचारीको असहयोग र नीतिगत अस्पष्टताले गर्दा व्यवसायिक वातावरण बन्न नसकेको स्वीकारेका छन् । राज्यलाई कर तिर्छु र रोजगारी सृजना गर्छु भन्ने व्यक्तिलाई राज्यको करबाट तलव खाने तल्लो तहका कर्मचारीले अनावश्यक दुःख दिनु जायज नभएको उनको भनाईको आशय थियो।
पोखरा उद्योग वाणिज्य संघ तथा इकोनमिक पोलिसी इनक्यूबेटरको संयुक्त आयोजनामा आइतबार पोखरामा आयोजना भएको ‘नेपालको औद्योगिक क्षेत्रको प्रतिष्पर्धी क्षमताको विकास र परिणाम’ विषयक प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्व सचिव ओझाले विशेष औद्योगिक क्षेत्र ( सेज) को व्यवस्थापन, साना तथा घरेलु उद्योगको उत्पादकत्व वृद्धि, उद्योग-व्यवसाय दर्तामा सरलिकरण तथा भएको बजारको अधिकतम् उपयोगले मात्र नेपाली उद्योगी-व्यवसायीले लाभ लिन सक्ने उनको भनाइ थियो । अमेरिकाले विभिन्न ६६ वटा सामानहरुमा भन्सार छुट दिएको प्रसङ्ग झिक्दै ओझाले त्यसको उपयोगमा ध्यान दिनुपर्ने सुझाए । केही वर्ष अगाडिसम्म कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा १७ प्रतिशत योगदान दिने उद्योग क्षेत्र अहिले खुम्चिएर ६ प्रतिशतको हाराहारीमा आउनु दुखद भएको उनको भनाई थियो ।
कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुुकुमार थापाले श्रम ऐन, जग्गा प्राप्ति ऐन लगायतका ऐनहरु अहिलेसम्म मन्त्रालयमा अड्कँदा लगानी मैत्री वातावरण बन्न नसकेको गुनासो गरे । कर्मचारीतन्त्रमा देखिने असहयोगी व्यवहार, व्यवसाय दर्ता र संचालनको लागि एकद्धार प्रणालीको अभावले समेत समस्या खडा गरेको उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य ईश्वर कर्माचार्यले व्यवसायीहरुलाई लगानीको लागि सरकारले नीतिगत सुधार गर्नुपर्ने आवश्यकता औंल्याए । अर्की कार्यसमिति सदस्य हीरा भट्टराईले स्थानीय स्तरमा साना तथा मझौला उद्योगबाट उत्पादित सामानहरुको बजार बिस्तारमा राज्यले ध्यान दिनुपर्ने बताइन् । यसैगरी कार्यसमिति सदस्य सीता गुरुङले हस्तकला तथा साना उद्योगहरुलाई आवश्यक पर्ने कच्चा पदार्थको उत्पादन बृद्धि तथा त्यस्ता सामानहरुमा कर छुटको व्यवस्था गर्न सके हस्तकला र साना उद्योगको विकास हुने धारणा राखिन । व्यवसायी महाप्रसाद लामिछानेले बजारको माग हेरेर उत्पादन गर्नका लागि सरकारको तर्फबाट नै बजार बिस्तारको परियोजना ल्याउनुपर्नेमा जोड दिए । सचेतना हस्तकलाकी संचालक गोमा घिमिरेले हस्तकला र साना उद्योगहरुका उत्पादनलाई राज्यले विशेष प्रोत्साहन दिनुपर्ने बताइन् । उद्योगपति प्रकाश केसीले नेपालमा एउटै प्रकृतिको उद्योग स्थापनाको होड चल्नु दुखद भएको बताउँदै व्यवसायीहरुले नयाँ सम्भावनाको क्षेत्रमा हात बढाउनु पर्ने धारणा राखे ।
व्यवसायी बुद्धि पुर्जाले उद्योगका उत्पादनले बजार लिने बेलासम्म धानिन मुस्किल हुने भएकोले उद्योग टिकाउनको लागि राज्यले उद्योगीलाई विशेष छुट दिनुपर्ने बताए । पोखरा उद्योग वाणिज्य संघका महासचिव रवीन्द्रबहादुर प्रजुको संचालन र कार्यसमिति सदस्य ईश्वर कर्माचार्यको धन्यवाद ज्ञापन रहेको कार्यक्रममा सहभागीहरुले साना र घरेलु उद्योगको विकासमा राज्यले स्पष्ट नीति नियम बनाउनु पर्नेमा विशेष जोड दिएका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution