पोखरा, २५ जेठ –
पोखरा पर्यटन परिषदको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा असार १५ गते आयोजना हुने १३ औं रोपाईं महोत्सव पोखरा–१७ महतगौंडामा हुने भएको छ। ‘पोखरा सबै मौषमका लागि’ भन्ने नाराका साथ आयोजना हुने उक्त महोत्सव स्थानीय राम भण्डारी र विक्रम भण्डारीको ६ रोपनी जग्गामा आयोजना हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
असारे रोपाई महोत्सवमा विभिन्न मुलुकका २ सय बढी पर्यटकहरु हिलोमा खेल्ने गरी सहभागि हुने भएको कार्यक्रम संयोजक डम्बरबहादुर केसीले बताए । महोत्सवको अवसरमा साउने प्रतियोगिता (हल गोरु दौड), आमा समूहहरुबीच असारे गीत तथा रोपाईं प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, हिले दौड प्रतियोगिता (नेपाली पुरुष), हिले दौड प्रतियोगिता (नेपाली महिला), हिले दौड प्रतियोगिता (बिदेशी पर्यटक पुरुष) र हिले दौड (बिदेशी महिला) प्रतियोगिता हुने कार्यक्रम संयोजक केसीले बताए । त्यस्तै, रस्साकसी प्रतियोगिता (बिदेशी तथा नेपाली), पत्रकारहरुको हिले दौड प्रतियोगिता पनि हुने उनले बताए । महोत्सवको अवसरमा कास्की जिल्लामा उत्कृष्ट हुने र स्थानिय उत्कृष्ट कृषकलाई सम्मान गरिने उनले जानकारी दिए । कृषि विकास कार्यालयको सिफारिसमा पशुपालन, फलफुल र वाली तर्फका उत्कृष्ट कृषक सम्मानित हुने भएको उनले जनाए ।
साउने प्रतियोगितामा प्रथम हुनेलाई नगद ३ हजार, द्वितीय हुनेलाई २ हजार, तृतीय हुनेलाई १ हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई ५ सय रुपैयाँ सहित प्रमाणपत्र तथा ट्रफी प्रदान गरिने परिषदका महासचिव रामु गौतमले बताए। असारे रोपाईं तथा गीत प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, द्वितीय हुनेलाई ३ हजार र तृतीय हुनेलाई २ हजारसहित ट्रफी तथा प्रमाण पत्र प्रदान गरिने उनले बताए । महोत्सवमा करीब २५ हजार दर्शक भित्राउने लक्ष्य राखिएको परिषदका अध्यक्ष सोम थापाले बताए । उक्त महोत्सव सम्पन्न गर्न ११ लाख १५ हजार लाग्ने भएको सह–संयोजक चिरन्जिवि पोखरेलले बताए । पोखरा र यस वरपरका क्षेत्रमा भएका विरुवा फाँट, कुँडहर फाँट, सेती बगर, लेखनाथ नगरपालिकाका विभिन्न फाँटहरु जस्ता धान खेतीयोग्य जमिनहरु दिनानुदिन घडेरीका रुपमा प्रयोग हुने कार्य तिव्र गतिमा भैरहेको हुँदा पोखराको प्राकृतिक सौन्दर्यलाई कायम राख्न समेत यस्ता कार्यहरुलाई रोक्नु महोत्सवलाई निरन्तरता दिदै आएको अध्यक्ष थापाले जनाए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution