घडियाल गोहीको सङ्ख्या ७४ ले बढ्यो

चितवन, ३१ जेठ –

सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोहीको सङ्ख्या नेपालमा १९८ वटा पुगेको छ । पछिल्लोपटक गरिएको गणनाअनुसार देशका चारवटा नदीमा यसअघिको गणनाभन्दा ७४ वटाले वृद्धि भई १९८ पुगेको हो । यसअघि सन् २०१३ मा गोहीको सङ् १२४ मात्रै थियो ।

चितवन राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारीअनुसार, अहिले नारायणी नदीमा ८४, राप्तीमा ८२, बबईमा ३१ र कर्णालीमा एकवटा गोही भेटिएका छन् । यसअघि नारायणीमा ६३, राप्तीमा ४५, बबईमा १४ र कर्णालीमा दुईवटा मात्रै गोही रहेका थिए ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार हालसम्म छवटा नदीमा गोही छाडिँदै आएको छ । जसमा राप्ती नदीमा ४७६, नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोसीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० वटा गोही छाडिसकिएको छ । कालीगण्डकी र सप्तकोसीमा गोही शून्य अवस्थामा रहेको बताइएको छ । गोही नरहेपछि पछिल्लो समय ती नदीमा भने गोही छाड्न छोडिएको छ । गएको चैतमा ती नदीमा गोही गणना गरिएको थियो ।

सन् १९७८ मा चितवन राष्ट्रिय निकुञ्जभित्रको कसरामा गोही प्रजनन केन्द्र स्थापना गरी निरन्तर यसको संरक्षणमा सरकार लागेको छ । पछिल्लो समय त्यहीँबाट गोही लगेर बर्दियामा पनि गोही प्रजनन केन्द्र स्थापना गरी यसको संरक्षण गरिँदै आएको छ । नदीमा छाडिएका गोही केही वर्षअघिसम्म घट्दै गएपछि चिन्ता व्यक्त गरिएको थियो । पछिल्लो तथ्याङ्कले संरक्षणकर्मीलाई केही उत्साहित बनाएको छ । निकुञ्ज क्षेत्रमा बगेको नदीको स्थल मात्र गोहीको वासस्थानका लागि सुरक्षित रहेको उहाँले बताउनुभयो । नेपालमा सन् १९८१ बाट नदीमा गोही छाड्न सुरु गरिएको हो । प्रजनन केन्द्रमा हुर्काएका गोही नदीमा छाड्दै आइएको छ ।

हरेक वर्ष विश्व सिमसार दिवस, वन्यजन्तु सप्ताहलगायका दिवसका अतिरिक्त अन्य कार्यक्रम पारेर पनि नदीमा गोही छाडिँदै आएको छ । त्यसैका लागि हाल कसराको प्रजनन केन्द्रमा ५२५ वटा गोही रहेका छन् ।

सहायक संरक्षण अधिकृत खड्काका अनुसार ७५ प्रतिशत गोही भारत जाने गर्दछन् । माछा जता जान्छ गोही त्यतै जाने गर्दछ । जसका कारण मानिसले जालमा पार्ने, घाइते बनाउने र मार्ने समस्या पनि देखिएको छ । गोहीको वासस्थान मानवका कारण असुरक्षित बन्दै गएका कारण संरक्षण गरे पनि सङ्ख्या बढाउन कठिन हुँदै आएको छ । माछा मार्ने, गिट्टी, ढुङ्गा, बालुवा निकाल्नेलगायतका कारण गोहीको वासस्थान असुरक्षित बन्दै गएको उहाँले बताउनुभयो ।

एसियामा नेपाल र भारतमा प्रजनन केन्द्र खडा गरी घडियाल गोही संरक्षण गर्दै आएका कारण लोप हुनबाट बचेका छन् । तर अन्य देशमा घडियाल गोही लोप भइसकेका छन् । सन् २००७ मा गोहीलाई सङ्कटापन्न जलचरका रुपमा घोषणा गरिसकिएको छ । खड्काले सामान्यतया सङ्कटापन्न घोषणा गरेको १० वर्षमा ५० प्रतिशत लोप भइसक्ने बताउनुभयो । त्यसैले पनि यसको सङ्ख्या बढाउन नेपालमा सबैतिरबाट सहयोगको खाँचो रहेको उहाँले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जको कसरामा गोही रहेका नदीहरुबाट अन्डा सङ्कलन गरी प्रजनन गराइँदै आइएको छ । नदीमा नै हुर्किएका पुराना गोही देख्न मुस्किल पर्ने गरेको उहाँले बताउनुभयो । जति गोही रहेका छन् छाडेका मात्र भएको उहाँले बताउनुभयो । निकुञ्ज र संरक्षित क्षेत्रमा गोहीको सङ्ख्या बढेको अहिलेको तथ्याङ्कले देखाएको थापाले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जमा लगातार दुई वर्षसम्म शून्य सिकार वर्ष मनाइरहँदा यसको प्रत्यक्ष प्रभाव गोहीमा पनि परेको पाइएको छ । नदीमा माछा र गोहीका अन्य सिकार संरक्षित रहेकै कारण गोहीको सङ्ख्या बढेको हो । माछा मारिएका नदीमा गोहीको सङ्ख्या घटेको छ भने सुरक्षित नदीमा बढेको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button