पुनर्निर्माणका लागि रु २० अर्बको अख्तियारी

काठमाडौँ, १२ साउन –

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भई अनुदान पाउने सूचीमा परेका घरधनीलाई घर पुनर्निर्माणका लागि पहिलो किस्तास्वरुप अनुदान रकम उपलब्ध गराउने गरी २० अर्ब रुपैयाँ बराबरको बजेटको अख्तियारी प्रदान गरेको छ ।

प्राधिकरणका अनुसार चार लाख ७४ हजार ४४४ घरधनीलाई पहिलो किस्ता रकम उपलब्ध गराउन २३ अर्ब ७२ करोड २२ लाख रुपैयाँ आवश्यक पर्छ ।

उक्त रकम स्थानीय विकास तथा सङ्घीय मामिला मन्त्रालयमार्फत जाने गरी अख्तियारी प्रदान गरिएको प्राधिकरणले जनाएको छ । अनुदान रकम व्यवस्थापन गर्नका लागि दातृ निकाय र नेपाल सरकार गरी १९ अर्ब ३३ करोड नौ हजार १५० रुपैयाँ खर्च गर्न सकिनेछ । बाँकी चार अर्ब ३८ करोड ३० लाख ५० हजार रुपैयाँ अघिल्लो वर्षको बचत तथा विभिन्न गैरसरकारी संस्थामार्फत उपलब्ध गराउने व्यवस्था रहेको छ ।

उपत्यका बाहिरका भूकम्प अतिप्रभावित जिल्ला र ललितपुरको कार्यविनायक नगरपालिकामा गरी पाँच लाख ३३ हजार १६८ घरधनीको नाम दुई लाख रुपैयाँ अनुदान पाउने सूचीमा परेको छ । त्यसमध्ये ३७ हजार ७२ घरधनीको यसअघि पहिलो किस्ताको अनुदान रकम एक अर्ब ८५ करोड ३६ लाख रुपैयाँ बैंक खातामा जम्मा भइसकेको छ ।

चालू आर्थिक वर्षमा पुनर्निर्माणका कार्य अघि बढाउनका लागि अर्थ मन्त्रालयले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई करिब ८४ अर्ब रुपैयाँको बजेट अख्तियारी प्रदान गरिसकेको छ । कुल अनुदान पाउन अनुदान सूचीमा परेकामध्ये १९ हजार २२ घर पुनर्निर्माणका लागि विभिन्न गैरसरकारी संस्थासँग सम्झौता भइसकेको छ ।

उनीहरुले प्राधिकरणबाट तोकिएका बैंकमार्फत नेपाल सरकारले उपलब्ध गराएसरह पहिलो किस्ताबापत रु ५० हजार, दोस्रो किस्ताबापत रु ८० हजार र तेस्रो किस्ताबापत रु ७० हजार उपलब्ध गराउन सक्ने व्यवस्था रहेको छ । उल्लिखित अख्तियारीमा गैरसरकारी संस्थामार्फत उपलब्ध गराइने रकम समावेश गरिएको छैन ।

काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा सर्भेक्षण सुरु भएको छ भने भूकम्प प्रभावित अन्य १७ जिल्लामा सर्भेक्षण गर्ने तयारी भइरहेको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button