नयाँ सरकारले पूरक बजेट नल्याउने

काठमाडौँ, १७ साउन –

पूर्व अर्थमन्त्री डा रामशरण महतले अर्थमन्त्री विष्णु पौडेलले ल्याउनुभएको बजेटले नै निरन्तरता पाउने बताउँदै नयाँ सरकारले पूरक बजेट नल्याउने बताउनुभएको छ ।

अर्थमन्त्री पौडेलले व्यवस्थापिका संसद्मा पेश गर्नुभएको बजेट पास नभइकन नयाँ सरकार परिवर्तन भएको सन्दर्भमा रासससँग कुराकानी गर्दै नेपाली काँग्रेशका केन्द्रीय सदस्यसमेत रहनुभएका डा महतले भन्नुभयो, “अहिले विनियोजन बजेट पास भइसकेको छ । तर अन्य कानुन पास हुन बाँकी रहेको छ, यो अवस्थामा पूरक बजेटको अवश्यकता मैले महसुस गरेको छैन ।”

उहाँले केपी ओली सरकारले ल्याएका कार्यक्रमले निरन्तरता पाउने स्पष्ट पार्दै भन्नुभयो – “कुनै अनावश्यक गल्ती भएपछि परिवर्तन गर्न सक्छ तर त्यो नयाँ सरकार गठन भएपछि अध्ययन गरेर अगाडि बढाउला । तर भएका कार्यक्रमले निरन्तरता पाउँछ ।”

डा महतले राजनीतिक व्यवस्था जस्तो अर्थव्यवस्था द्रुत गतिमा परिवर्तन नहुने बताउनुभयो । नौ÷नौ महिनामा सरकार बदलिए पनि नौ÷ नौ महिनामा अर्थव्यवस्था नबदलिने उहाँले स्पष्ट पार्नुभयो । हाम्रा समस्या तथा समस्यामा कुनै परिवर्तन नभएको डा महतको भनाइ छ ।

पूर्व अर्थमन्त्री महतले भन्नुभयो – “हिजो हामीले सुरु गरेका कार्यक्रमलाई वर्तमान सरकारले महत्व दियो, यो सरकारले सुरु गरेका कार्यक्रमलाई पनि नयाँ सरकारले महत्व दिनुपर्छ । आर्थिक विकासका योजना निरन्तरका योजना हुन् । नयाँ सरकार आएपछि नयाँ योजना ल्याउलान् तर पनि तिनीहरुका अवधि हुन्छन् ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले पेस गरेका कार्यक्रम पनि विगतकै निरन्तरता भएको बताउँदै उहाँले भन्नुभयो – “बाँडफाँड पनि विगतकै कार्यक्रम हुन् । नयाँ कार्यक्रम काल्पनिक मात्र छन् । त्यसलाई पूरा गर्न समय लाग्छ । कल्पना गरिएका योजनाहरुको कार्यान्वयनका लागि योजना बनाउनुपरयो । तयारी गर्नुपरयो, साधनस्रोत जुटाउनुपरयो अनिमात्र लागू हुन्छन्, ती कार्यक्रम ।”

विगत केही वर्षयता सुरु भएका योजनाहरु ‘फास्ट ट्र्याक’ का विषयमा उहाँले भन्नुभयो – “नेपाली सेनाले ट्र्याक खोलेर सुरु भएको द्रुत मार्गलाई कसैले मेरो भन्दैमा मेरो हुँदैन । यो हामीले सुरु गरेको योजना हो ।” डा महतले मध्यपहाडी सडक योजना पनि आफूले बजेट विनियोजन गरेर ल्याएको कार्यक्रम भएको बताउनुभयो । उहाँले भन्नुभयो – “विगतका राष्ट्रिय गौरवका योजनालाई तीव्र कार्यान्वयन नयाँ सरकारले गर्नुपर्छ, गर्नेछ ।” रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button