सबै नेपालीको स्वास्थ्य बिमा गरिने

चितवन –

स्वास्थ्यमन्त्री गगनकुमार थापाले दुई महिनाभित्रमा स्वास्थ्य बिमासम्बन्धी विधेयक संसद्मा पेस गर्ने बताउनुभएको छ ।

भरतपुर अस्पतालको सी ब्लक भवनको आज यहाँ शिलान्यास गर्दै उहाँले सबै नेपालीले सहज स्वास्थ्य सुविधा पाउन् भन्नका लागि बिमा योजना ल्याउन लागिएको बताउनुभयो ।

अति विपन्न जसले बिमा शुल्क तिर्न सक्दैन उनीहरुका लागि राज्यले बिमा शुल्क तिरेर सबै नेपालीलाई बिमामार्फत स्वास्थ्य सेवा दिने तयारीमा सरकार रहेको मन्त्री थापाले बताउनुभयो । देशमा सबैभन्दा बढी भौतिक निर्माणमा अनियमितता हुने गरेको प्रसङ्ग कोट्याउँदै उहाँले त्यहाँ गरिने अनियमितता अपराध हो भने स्वास्थ्य क्षेत्रको अनियमितता पाप भएको बताउनुभयो ।

सरकारले अनियमितता रोक्नका लागि कडाइका साथ काम थालेको भन्दै उहाँले मन्त्रीको कोठाबाट आर्थिक पारदर्शीतालाई सुरुवात गरिने बताउनुभयो । मन्त्री थापाले अरुले झैँ आफूले कुनै कर्मचारीलाई निर्देशन नदिने भन्दै मिलेर काम गर्न सबै कर्मचारीमा आग्रह गर्नुभयो । “तपार्ईहरुले मलाई काम दिनुहोस्, म पूरा गर्छु, तपाईले पनि आफ्नो प्रतिबद्धता पूरा गर्नुपर्छ,” उहाँले भन्नुभयो । नेपालमा सबै क्षेत्रमा अनुगमनको पाटो निकै फितलो रहेको भन्दै हरेक योजनामा अनुगमन जरुरी हुने बताउनुभयो ।

भरतपुर अस्पताललाई प्रतिष्ठान बनाउनुपर्ने मागप्रति मन्त्री थापाले अहिलेसम्म २५ वटा अस्पतालले प्रतिष्ठानको माग गरेको भन्दै सबै अस्पताल प्रतिष्ठान भए स्वास्थ्य मन्त्रालयको काम खोप लगाउनेबाहेक केही नहुने बताउनुभयो । अस्पतालमा पठनपाठन गर्नका लागि प्रतिष्ठान नै जरुरी हुन्छ वा हुँदैन भन्ने विषयमा बहस जरुरी रहेको उहाँको भनाइ थियो ।

नेपालको संविधानले सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार सुरक्षित गरेको भन्दै उहाँले पैसा भए पनि नभए पनि अस्पताल छिरेका बिरामीले उपचार पाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – “सेवा लिने भनेर यहाँ छिरेको बिरामी बाहिरी अस्पतालमा जान नपरोस् ।”

नेपालमा कति चिकित्सक छन् त्यसको अद्यावधिक तथ्याङ्कसमेत नरहेको भन्दै उहाँले तथ्याङ्क सङ्कलन गरी प्राथमिक उपस्वास्थ्य चौकीमा समेत नियमित चिकित्सक राख्ने विषयमा सरकार लागिपरेको बताउनुभयो । छोटो समयमा धेरै काम गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको भन्दै उहाँले अस्पताल विकासका लागि योजनाहरु तयार गरी मन्त्रालयमा आएमा सहजै काम गर्न सकिने बताउनुभयो ।

भरतपुर अस्पतालमा आकस्मिक कक्ष र ट्रमा सेन्टर व्यवस्थित गर्न आवश्यक बजेट निकासा गर्न आफू सकारात्मक रहेको उहाँले बताउनुभयो । कार्यक्रममा सांसद कृष्णभक्त पोखरेल, प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजन गौतम, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदी, मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनीलगायतले भरतपुर अस्पतालसहित जिल्लाको स्वास्थ्य अवस्थाका बारेमा मन्त्री थापालाई जानकारी गराउनुभएको थियो ।

सो अवसरमा मन्त्री थापाले सी ब्लक भवनको शिलान्यासँगै अस्पतालको अत्याधुनिक शल्यक्रिया कक्ष र सघन उपचार कक्षको पनि उद्घाटन गर्नुभएको थियो । स्वास्थ्य मन्त्रालयले असोज ४ गते भरतपुर अस्पतालको सी ब्लक भवन निर्माणका लागि रु २८ करोड ८२ लाख १४ हजार लागत स्वीकृत गरेपछि अस्पतालले भवन निर्माणको प्रक्रिया अघि बढाएको हो ।

भवनमा सरकारको ८० प्रतिशत लगानी हुनेछ भने, भरतपुर अस्पताल विकास समितिको २० प्रतिशत लगानी हुनेछ । भवनले चार हजार ४३३ वर्ग मिटर जमिन ओगट्ने छ । भवनको तल्लो भूइँ तलामा सिटी क्यान, एमआरआई, ल्याब, हिस्टोप्याथोलोजी, एक्सरे, ल्याब, इसिजी, इको, इन्डस्कोकोपी, कोलोनोस्कोपी, सिस्टोसकोपी, ब्रोङ्कोसकोपीलगायतका सेवा सुविधा उपलब्ध हुने छन् भने, दोस्रो तलामा सर्जिकल, न्युरो र कार्डियोलोजी विभाग रहनेछ ।

भवनको तेस्रो तलामा डाइलसिससम्बन्धी काम हुने छ । सघन उपचार कक्ष र शल्यक्रिया कक्ष भने विगतकोलाई सुधार र विस्तार गरिएको हो । सो अस्पताल सरकारको ३०० र अस्पताल विकास समितिको ३०० गरी ६०० श्यया क्षमतामा सञ्चालनमा छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button