बहुलवादी समाजको महत्व छ – पूर्व प्रम भट्टराई

काठमाडौँ –

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले राष्ट्रको विकास तथा समृद्धिका लागि मुलुकमा बसोबास गर्ने सबै जातजाति र समुदायको समानुपातिक समावेशी सहभागिता गराउनुपर्ने बताउनुभएको छ ।

तामाङ राष्ट्रिय परिषद्को प्रथम राष्ट्रिय भेलालाई यहाँ आज सम्बोधन गर्दै उहाँले नेपालमा धेरै जातजाति तथा समुदाय बसोबास गर्ने भएकाले यहाँ बहुलवादी समाजको महत्व रहेको बताउनुभयो ।

संयोजक भट्टराईले सम्पूर्ण जातजातिको संस्कृतिको संरक्षणका साथै उनीहरुको अधिकार स्थापित गर्न आफ्नो पार्टी क्रियाशील रहेको बताउँदै “खस आर्य, मधेसी, आदिवासी जनजाति तथा दलितलाई निश्चित प्रतिशतको कलस्टरमा राख्नुपर्छ भन्नुभयो ।”

पार्टीका उपसंयोजक रामचन्द्र झा, नेता देवेन्द्र पौडेललगायतले आधुनिक नेपालको निर्माणमा तामाङ जातिको महत्व र योगदान रहेको चर्चा गर्नुभयो ।

भेलाका संयोजक सुवास तामाङले सङ्गठन सुधार गरी महाधिवेशन गर्नका लागि भेला बोलाइएको जानकारी दिनुभयो ।

विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार नेपालमा करिब छ प्रतिशत तामाङ जनसङ्ख्या छ । भेलामा देशभरबाट करिब ३०० प्रतिनिधि सहभागी छन् ।
रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button