
पोखरा –
हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने, टीकापुर घटनाका दोषीहरुलाई उन्मुक्ति दिने, नेपाल सरकार र भारतीय दुतावासलाई समान स्तर बनाउने, विदेश मामलामा नेपाल र भारतको एउटै धारणा हुनेछ भनी प्रचण्ड सरकारले हालै भारतसँग गरेको सम्झौता खारेजीको माग सहित अनेरास्ववियु त्रिबि जिल्ला कमिटिले खबरदारी जुलुस निकालेको छ ।
पृथ्वीनारायण क्याम्पस गेटबाट सुरु भएको जुलुस, बिन्ध्यवासिनी चोक, माथिल्लो क्याम्पस गेट हुदै पुनः पृथ्वीनारायण क्याम्पस गेट अगाडि आएर कोण सभामा परिणत भएको थियो । जुलुसमा सहभागी विद्यार्थीहरुले हाम्रो भाषा हाम्रो देश प्राण भन्दा प्यारो छ, कठपुतली सरकार मुर्दावाद, कैलाली हत्याकाण्डका दोषिलाइ कारबाही गर लेखिएका प्लेकार्ड बोक्दै नारा लगाएका थिए ।
कोण सभालाइ सम्बोधन गर्दै अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य नरेश रोकायले वर्तमान सरकारले भारतसँग गरेका सम्झौता राष्ट्रघाती भएको बताउदै सरकारका गलत कदम विरुद्ध अनेरास्ववियुले आन्दोलनको सुरुवात गरेको बताए । ‘यो सरकारले गरेका राष्ट्रघाती सम्झौताहरु तत्काल खारेज नभए ज्ञानेन्द्र सरकार विरुद्ध गरेजस्तै आन्दोलन मार्फत यो सरकार र यसको नेतृत्वलाई पतन गराइनेछ ’ उनले भने ।
यस्तै अनेरास्ववियु गण्डकी संयोजक सरिता पुरीले सरकारको गलत कदम विरुद्ध सुरुवात गरिएको आन्दोलनका मागहरु सम्बोधन नहुदासम्म अझै दबाब मुलक ढंगबाट सहभागी हुन विद्यार्थीहरुलाइ अपिल गरिन् ।
कार्यक्रमका सभापती तथा त्रिवि जिल्ला कमिटी अध्यक्ष विवेक देबकोटाले राष्ट्रघातीको विरुद्धमा सुरुवात गरिएको आन्दोलन उनीहरुको पतनसँगै सकिने उद्घोष गरे ।
अनेरास्ववियु पिएन क्याम्पस उपाध्यक्ष विजय पौड्यालले संचालन गरेको उक्त कार्यक्रममा सयौं विद्यार्थीहरुको सहभागीता रहेको थियो ।





