निगमले दुई वटा ठूला जहाज खरिद प्रक्रिया सुरु गरयो

काठमाडौँ –

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दुई वटा ठूला (वाइड बडी) जहाज खरिदका लागि आज बोलपत्र (टेन्डर) आह्वान गरेको छ ।

आगामी १८ महिनाभित्र जहाज खरिद गर्नेगरी अन्तर्राष्ट्रिय टेन्डर प्रकाशित गरिएको निगमका प्रवक्ता रामहरि शर्माले  जानकारी दिनुभयो।

“दुई ठूला जहाज खरिद प्रक्रियाका लागि ४५ दिने टेन्डर आह्वान गरिएको छ, एक वर्षमा एउटा र छ महिनामा अर्को जहाज खरिद गर्छौं, उहाँले भन्नुभयो – सेवा विस्तार र गुणस्तरका लागि निगम अब पूर्णरुपमा लागेको छ” ।

सन् २०१७ को मार्चसम्म दुईवटा ‘एयरबस ३३०–२२०’ वाइड बडी खरिद गर्ने योजना रहेको निगमले जनाएको छ । निगमको बोलपत्रअनुसार २५ अर्बमा दुई वटा वाइड बडी विमान खरिद गर्ने योजना बनाएको छ प्रतिविमान दुई वटा ‘रोल्सरोयस ट्रेन्ट ७७२ बी’ इन्जिनसहित एक हजार घन्टाभन्दा कम उडेको विमान हुनुपर्ने सर्त राखिएको छ ।

त्यस्तै निगमले खरिद गर्ने जहाजमा २–२–२ फम्र्याटमा ४० देखि ६० इन्चसम्मको पिच भएका १२ देखि १८ सम्म विजनेस क्लास, २–४–२ फम्र्याटमा ३० देखि ३६ इन्चसम्मको पिच भएका इकोनोमी क्लासका सिटसहित जम्मा २५० देखि २८० सम्म सिट हुनुपर्नेछ ।

निगमलाई जहाज किन्न आवश्यक पर्ने ऋण दिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष तयार भएका छन् भने अर्थमन्त्रालयले ऋणका लागि जमानत बस्न स्वीकृति दिइसकेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button