
भक्तपुर –
३७ औँ विश्व पर्यटन दिवसका अवसरमा आज भक्तपुरमा पहिला आइपुग्ने पर्यटकलाई सम्मान गरिएको छ ।
भक्तपुर नगरपालिका र भक्तपुर पर्यटन विकास समितिद्वारा आज भक्तपुर दरबार क्षेत्रमा आयोजना गरिएको कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले माला, भादगाउँले टोपी लगाइदिएर फिलिपिन्स, अमेरिका, जर्मन र पाकिस्तानका चार पर्यटकलाई स्वागत गर्नुभएको थियो ।

ती पर्यटकलाई कार्यक्रममा सम्मानका गरिएको थियो । साथै पर्यटकलाई उपहार प्रदान गर्नुका साथै पर्यटकलाई ¥याली एवम् झाँकीसहित दरबार क्षेत्र परिक्रमा गराइएको थियो । ती पर्यटकलाई प्रवेशसमेत निःशुल्क गर्नुका साथै सम्मान गरिएको थियो ।
कार्यक्रममा बिजुक्छेले भक्तपुर चित्र पुस्तिका विमोचन गर्नुभएको थियो भने गाईजात्रामा प्रस्तुत गरिएका सांस्कृतिक विद्यामा उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गरिएको थियो । सो अवसरमा देवी प्याखं, भैल प्याखं, माक प्याखं, जङ्गली प्याखं, खिचाँ प्याखं, ख्या प्याखं, कवांचा प्याखं, गाइचा प्याखं, लुसी प्याखं, नागाचा प्याखं, लाखे प्याखं, कलालीचा प्याखं, झ्याउली प्याखं, लाहुरे प्याखं, फाकंदली प्याखं, घिङताङघिसी प्याखंबाट उत्कृष्ट हुनेलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
कार्यक्रमा बिजुक्छे, सांसद प्रेम सुवाल, प्रजिअ तेजप्रकाश पौडेल, स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइराला, प्रहरी उपरीक्षक किरण बज्राचार्य, भक्तपुर पर्यटक विकास समितिका अध्यक्ष लक्ष्मी अवाललगायतले भूकम्पपछि थला परेको पर्यटन व्यवसायलाई उकास्न सबै लाग्नुपर्ने बताउनुभयो । रासस





