विश्व समुदायमाझ नेपालले आफ्ना धारणा राख्ने अवसर पायो – परराष्ट्र मन्त्री डा महत

सङ्टन डिसी (संरा अमेरिका) –

परराष्ट्र मन्त्री डा प्रकाशशरण महतले नेपालको लोकतन्त्रको संस्थागत विकासका लागि गरिँदै आएका प्रयासबारे अन्तर्राष्ट्रिय समुदायलाई सुस्पष्ट ढङ्गबाट अवगत गराउन सकेको बताउनुभएको छ ।

संयुक्त राष्ट्र सङ्घको ७१ औँ महासभामा भाग लिन अमेरिका आउनुभएका परराष्ट्र मन्त्री डा महतले अमेरिकास्थित रासस प्रतिनिधि मधुकर अधिकारीसँगको कुराकानीमा विश्वमा शान्ति स्थापनाका लागि नेपालले पुरयाउँदै आएको सहयोग, राष्ट्रसङ्घले अगाडि सारेको सन् २०३० को दिगो विकासको अवधारणाअनुसार गरिबी निवारण, जलवायु परिवर्तन, शान्ति र सहकार्यप्रति नेपालले व्यक्त गरेको प्रतिवद्धता यसपटक पनि महासभामा राखेको उल्लेख गर्नुभयो ।

नेपालले विश्व शान्तिका लागि गरेको योगदानलाई कदर गर्दै शान्ति स्थापनार्थ खटिने समूहको नेतृत्व पङ्क्तिमा नेपाली सेना र प्रहरीको पनि सहभागिताका लागि आफूले गरेको मागमा राष्ट्रसङ्घ सकारात्मक देखिएको र यसबारेमा महासचिव वान की मुनसामु पनि यो विषय राखेको उहाँले बताउनुभयो ।

महासचिव मुनले संवैधानिक व्यवस्थाअनुसार सबैसँग सहकार्य गर्दै जटिल भएका विषयको समाधान खोज्न र संविधान कार्यान्वयन गर्न नेपाल सक्षम भएको आफूलाई बताउनुभएको बताउँदै मन्त्री महतले भन्नुभयो, ‘‘भेटमा मैले मुनलाई नेपालको लोकतन्त्र, बहुलवाद, कानूनी शासन, पारदर्शी र उत्तरदायी सरकार जस्ता विषयहरुमा सरकारले काम गर्ने र शान्तिलाई एकीकृत गर्देै स्थायित्व र समृद्धि हासिल गर्न गरिरहेको प्रयत्नबारेमा स्पष्ट रुपमा जानकारी गराएँ । शान्ति प्रक्रियामा नेपालले गरेका कामप्रति खुसी हुँदै उहाँले बधाई पनि दिनुभयो । शान्ति प्रक्रियाका बाँकी कार्यलाई पनि प्रजातान्त्रिक ढङ्गबाट सबैको सहमति र सहकार्यमा टुङ्ग्याउन आग्रह पनि उहाँले गर्नुभएको थियो।’’
आफूले महासचिवसँग आप्रवासनको अधिकारको विषय तथा खाडी देशहरुमा नेपाली श्रमिकले भोग्नुपरेका समस्याबारे पनि अवगत गराएको उहाँले बताउनुभयो ।

राष्ट्रसङ्घको महासभाकै दौरानमा विभिन्न क्षेत्रीय तथा सामरिक महत्वका धेरै बैठकहरुमा पनि आफू सहभागी भएको प्रसङ्ग उल्लेख गर्दै मन्त्री महतले यस क्रममा नेपाल राष्ट्र सङ्घअन्तर्गतको अल्पविकसित देशको समूह, भुपरिवेष्ठित देशको समूह, सार्कका मन्त्रीहरुको सम्बन्धजस्ता विभिन्न मञ्चहरुमा सहभागी भएको जानकारी दिनुभयो । जी–७७, सार्क मन्त्रीस्तरीय बैठक, जलवायु परिवर्तनको छलफल, आप्रवासन र शरणार्थी सम्बन्धी छलफल जस्ता विषयहरुमा सहभागिता जनाएर नेपालको धारणा राखेको पनि उहाँले उल्लेख गर्नुभयो ।

नेपाल अध्यक्ष भएको नाताले सार्कको आगामी शिखर सम्मेलनको तयारीबारेमा जानकारी लिनेदेखि सार्कका विदेश मन्त्रीस्तरीय बैठकमा पनि यसबारेमा छलफल गरेको मन्त्री डा महतले बताउनुभयो ।

नेपाल र अमेरिकाको लामो कूटनीतिक सम्बन्ध भएको र अमेरिकाले नेपालको विभिन्न क्षेत्रमा महत्वपूर्ण सहयोग गरिरहेको स्मरण पनि उहाँले गर्नुभयो । अमेरिकी राष्ट्रपति बाराक ओवामासँगको साइडलाइन भेट, विदेश मन्त्री जोन केरीसँगको भेट र उपविदेशमन्त्रीसँग द्विपक्षीय हितका विभिन्न विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो । अमेरिकी सरकारले नेपालको वस्तु तथा सेवाको आयातका लागि छुट दिने विधेयक पारित गरेको अवस्थामा त्यसलाई कार्यान्वयनमा लैजान आइपर्ने चुनौतीलाई समाधान गर्ने विषयमा पनि उहाँहरुसँग छलफल भएको मन्त्री महतले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पछिल्ला वर्षहरुमा दुई देशबीच उच्चस्तरको भ्रमण नभएको सन्दर्भमा विदेश मन्त्री जोन केरीसँग भएको अनौपचारिक कुराकानीको क्रममा उहाँले नेपाल भ्रमण गर्ने इच्छा राख्नु भएको छ र हामीहरुले पहल पनि गरेका छौं । मैले निकट भविष्यमा अमेरिकी सरकारबाट उच्चस्तरको भ्रमण हुने अपेक्षा लिएको छु ।’’

अमेरिकामा छरिएर बसेका नेपालीलाई कतिपय सेवा तथा सुविधामा असुविधा भइरहेको भन्ने जानकारी आफूलाई आएको बताउँदै मन्त्री महतले भन्नुभयो – “यसलाई कम गर्न पश्चिमी क्षेत्रमा एउटा वाणिज्य दूतावासको आवश्यकता महसुस भएको छ । नेपालीको घनत्व भएका केही राज्यमा अवैतनिक दूत राख्ने सोच आएको छ ।”

परराष्ट्र नीतिमा साझा धारणाको खाँचो रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अब हामीहरुले सरकारपिच्छेको कुरा भन्दा अन्र्तराष्ट्रिय मञ्चहरुमा उपस्थित भएर व्यक्त गरिने धारणा र नेपालको चासोका विषयमा एउटा साझा धारणासहितको दस्तावेज बनाउन आवश्यक छ।”

प्रधानमन्त्री पुष्पकमल दाहालले हालै गर्नुभएको भारत भ्रमणले विगतमा दुई देशबीच रहेका केही मतमतान्तरलाई हटाउन मद्दत पुगेको बताउँदै विगतमा भएका जति पनि आयोजना र सम्झौतालाई समयसीमासहित कार्यान्वयनमा लैजाने बाटो खुलेको उल्लेख गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button