पोखरा –
पोखराको बाटुलेचौरमा रहेको मातृशिशु मितेरी अस्पताल सरकारलाई हस्तान्तरण गरिएको छ । २५ शैयाको जिल्लास्तरको अस्पतालको बुधबार देखि सरकारी तवरबाट संचालनमा आएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारको उपस्थितिमा अस्पतालका निर्वतमान मेडिकल सुपरीन्टेन्डेन्ट छममाया पुनले अस्पतालका प्रमुख डाक्टर प्रेमराज पंगेनीलाई अस्पतालको माइन्युट बुक, सम्पत्तिको सम्पूर्ण विवरण बुझाएर सरकारलाई हस्तान्तरण गरेकी हुन् । एक समारोहका विच राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अस्पतालको उद्घाटन गर्दैै यस क्षेत्रका जनतालाई स्वास्थ्यको क्षेत्रमा पहुच पुराउन उक्त अस्पतालले सहयोग पुराउने विश्वास व्यक्त गरीन ।
उनले भनिन “आमा र शिशुलाई अस्पतालले गुणस्तरीय सेवा दिनेमा म, विस्वस्तु छु’ पोखरालाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धा गर्ने बेला आएको ।” पोखराको विकासको आधार नै पर्यटन भएको बताएकी राष्ट्रपति भण्डारीले प्रकृतिले दिएको सुन्दरतालाई जोगाएर पर्यटकीय हब बनाउन तर्फ सबैको ध्यान जान जरुरी रहेको बताईन ।
कार्यक्रममा नेपालका लागि जापानी राजदुत मासासी ओगावा, जाइका नेपालका महानिर्देशक जुन साकुमा, कोमागाने नगरका मेयर कोजी सुगीमोतोले सहयोगलाई निरन्तरता दिने बताएका थिए । पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले बाल मुत्युदरलाई घटाउने अहिलेको चुनौती रहेको बताए ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष कृष्ण थापाको अध्यक्षमा भएको कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर तारानाथ पौडेल, नगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर कुँवर लगायतले अस्पतालको बारेमा बोलेका थिए । कार्यक्रममा राष्ट्रपति भण्डारीलाई स्वागत र सम्मान व्यक्त गर्न महिलाहरुको बाक्लो उपस्थिति थियो ।
पोखरा उपमहानगरपालिका संरक्षक र कोमागाने नगर सह–संरक्षकत्वमा स्थानीय जनताको सहयोगमा स्थापित अस्पतालले २०६७ साल कार्तिक २३ बाट पोलिक्लिनिकको रुपमा सेवा सुरु गरेको थियो । जनस्तरबाट महायज्ञ मार्फत सुरुआत गरिएको अस्पतालमा २०६९ साल माघ २२ गतेदेखि महिला र बालबालिकाको क्षेत्रमा विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा १२ करोड रुपैयाँ बराबरको भवन, नेपाल सरकारको १ करोड १० लाख रुपैयाँ लगानी। स्थानीय जनताको ५२ लाख, कोमागाने नगरले करिब ४ करोड बराबरको महत्वपूर्ण उपकरण लगायत सरकारलाई हस्तान्तरण गरिएको हो ।
नगरपालिकाले अस्पताल सञ्चालनको लागि वार्षिक रुपमा २५ लाख रुपैयाँ सहयोग गदै आएको थियो । तीन वर्षको लागि रकम दिएकोमा यो अन्तिम वर्ष भएको नगरपालिकाले बताएको छ । अस्पतालको कुल खर्चको १० प्रतिशत रकम सहयोग गर्ने सैद्वान्तिक सहमति भएको उनले उल्लेख गरे । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रेमराज पंगेनीले बाल र स्त्रीरोगको विशेषज्ञ डाक्टर, ४ मेडिकल अधिकृतसहित ३८ जनाको दरवन्दी अस्पतालमा रहेको जानकारी दिए । पोखरा उपमहानगरपालिका र जापानको कोमागाने नगरबीच भगिनी सम्बन्ध कायम भएको १० औं वर्ष गाँठको अवसरमा २०६९ सालमा अस्पताल स्थापना गरिएको थियो । अस्पताललाई नेपाल सरकारले गत वर्ष असोज २२ गते जिल्ला स्तरको २५ शैयाको सरकारी अस्पतालमा स्तरोन्नति गरेको थियो । साविकको बाटुलेचौर स्वास्थ्य चौकी र मितेरी अस्पताललाई समायोजन गरी स्वास्थ मन्त्रालय अन्तर्गत सञ्चालन गरिएको हो । कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी सहित २० जना भन्दा बढीलाई सम्मान गरिएको छ । अस्पतालाई स्तरोन्नति गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै राष्ट्रिपति भण्डारीले सम्मान पत्रको साथमा दोसल्ला ओढाएर सम्मान गरिन् । पोखरामा रहेको पश्चिमाञ्चल क्षेत्रिय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने सरकारले उद्घोष गरेको छ ।





