मुक्तिनाथ जाने तीर्थयात्री बढ्न थाले

  • पोखरा न्यूज
  • २०७३ आश्विन १३
Post Thumbnail

बाबियाचौर (म्याग्दी) –

बेनी–जोमसोम सडकमा सवारी आवतजावत सहज भएपछि मुस्ताङस्थित मुक्तिनाथ र कागबेनी जाने तीर्थयात्री बढ्न थालेका छन् ।

सोह्रश्राद्ध सकिन केही दिन बाँकी रहँदा सडक मार्ग भएर मुस्ताङ जाने तीर्थयात्रीको सङ्ख्या बढेको हो । विगतका वर्षमा सोह्रश्राद्ध सुरु भएको दिनदेखि नै मुस्ताङ जाने तीर्थयात्रीको घुइँचो लाग्ने गरेको थियो । सोह्रश्राद्धमा कागबेनीमा पुगेर पितृलाई पिण्डदान गरेमा पुण्य लाभ हुने धार्मिक विश्वास रहेको छ ।

बेगखोलामा आएको बाढी र अन्य ठाउँमा खसेको पहिरोका कारण बेनी जोमसोम सडकमा सिधा सवारी सञ्चालन नहुँदा तीर्थयात्रीलाई असुविधा भएको थियो । गत हप्ता सबै ठाउँमा सडक मर्मत गरेर साढे दुई महिनापछि ७६ किलोमिटर दूरीको बेनी—जोमसोम सडकमा सिधा सवारी सञ्चालन गर्न थालिएको थियो ।

सडक मार्ग भएर बुधबार अहिलेसम्मकै धेरै तीर्थयात्री मुस्ताङ गएका म्याग्दी जिप तथा बस सञ्चालक समितिका उपाध्यक्ष मोहन केसीले जानकारी दिनुभयो । बेनीबाट जोमसोमका लागि १२, पोखरा र बागलुङबाट एकएकवटा माइक्रोबस जोमसोमका लागि छुटेका छन् । दैनिक एक सयवटा निजी र पर्यटक गाडी मुस्ताङतर्फ गएका छन् ।

यसअघि बेनी हुँदै मुस्ताङ जाने सार्वजनिक गाडीको सङ्ख्या दैनिक १२ वटाको हाराहारीमा थियो । तीर्थयात्री नआउँदा सुनसान भएका होटल बुक हुन थालेका छन् । बेनीका होटल व्यवसायी उत्साहित भएका छन् । सडकमा यातायात सहज भएको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा फैलाउन सकेमा मुस्ताङ जाने तीर्थयात्री र आन्तरिक पर्यटकको सङ्ख्या बढ्ने बेनीका होटल व्यवसायीले बताएका छन् । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस