पोखरान्युजडटकम –
विन्ध्यबासिनी मन्दिरको बृहत्तर विकासको लागि गुरु योजना आवश्यक– राष्ट्रपति भण्डारी
संस्कृतिकर्मी सत्यमोहन जोशी पोखरामा सम्मानित भएका छन । ‘हेमदेवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कार’ बाट सम्मानित जोशीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका विच विहिबार पोखरामा सम्मान गरेकी हुन ।
समाजसेवी हेमबहादुर प्रधानद्वारा स्थापना गरीएको पोखराको विन्ध्यबासिनी मन्दिर धार्मिक क्षेत्र विकास समितिले सञ्चालन गरेको उक्त पुरस्कारबाट यस बर्ष जोशीलाई उक्त सम्मान सहित नगद १ लाख १ हजार प्रदान गरीएको छ ।
हरेक २-२ वर्षमा प्रदान गरिने उक्त पुरस्कार नेपालमा रहेर धर्म, संस्कृति र समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्ति वा संस्थालाई प्रदान गर्ने उद्धेश्यले स्थापना गरिएको समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठले बताए । विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिका संस्थापक अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हेमप्रसाद श्रेष्ठले आफु सहित श्रीमतीको नाममा स्थापना गरेका हुन् । प्रधानले पुरस्कारका लागि १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन ।
कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले पोखराको सौन्दयलाई वचाई राख्न आग्रह गर्दै विन्ध्यवासिनी मन्दीरमा धार्मिक पर्यटकहरु समेत भित्राउन गुरु योजना बनाउन सुझाव दिइन । उनले भनिन“ हिन्दुधर्मालम्वीहरुको लागि प्रसिद्ध विन्ध्यवासिनी मन्दीरमा धार्मिक पर्यटन प्रबद्र्धन गर्नको लागि गुरु योजना आवश्यक छ । ” उनले प्राकृतिक रुपमा मात्र नभई सांस्कृतिक रुपमा समेत धनी भएकै कारणले पोखरा देशकै प्रमुख पर्यटकीय केन्द्र बनेको दाबी गरीन । मन्दीरको व्यबस्थापन पक्षलाई अझ व्यवस्थित पार्न आग्रह गर्दै राष्ट्रपति भण्डारीले धार्मिक पर्यटकहरुलाई भन्दीरसम्म ल्याउन सके आर्थिक लाभ लिन सकिने बताईन । उनले भनिन “ यो राष्ट्रिय पुरस्कारले पुरस्कृत व्यक्तित्वलाई न्याय गर्नुका साथै पुरस्कार स्थापना गर्ने परिवार र सञ्चालन गर्ने धार्मिक क्षेत्र विकास समितिको गरिमा झनै बढाएको मैले महशुस गरेकी छु ।”
पुरस्कृत व्यक्तित्व संस्कृतिकर्मी ९६ बर्षीय सत्यमोहन जोशीले राष्ट्रपतिको हातबाट उक्त पुरस्कार प्राप्त गर्दां हर्षविभोर भएको बताउँदै मदन पुरस्कार, सुकीर्तिमय पुरस्कार भन्दा पनि यो पुरस्कारको अर्थ र महत्व सबैभन्दा धेरै हुने जनाए । जोशी तीन पटक मदन पुरस्कार, गोर्खा दक्षिण बाहु लगायतका पुरस्कारबाट पुरस्कृत भई सकेका छन । विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य सचिव तीर्थ श्रेष्ठ पुरस्कार स्थापना संचालक हेमबहादुर प्रधान लगायतले वोलेका थिए ।





