
पोखरा –
चरीकोट घटनाको बिषयलाई लियर पोखराका चिकित्सक सहित स्वास्थ्यकर्मी आन्दोलित भएका छन ।
चरीकोटमा उपचारको क्रममा साढे दुई वर्षका बालकको मृत्यु पछि स्थानीयले चिकित्सक र स्वास्थयकर्मीहरु माथि अमानविय व्यवहार गरेको भन्दै पोखराका चिकित्सक सहित स्वास्थ्यकर्मीहरु आन्दोलित भएका हुन । मेडिकल अफिसर एशोसियशन कास्कीको अगुवाईमा शनिबार पोखरामा चरीकोट अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी माथि गरीएको दुर्व्यवहारको बिरोध गर्दै बिरोध जुलुस निकालेका छन । पोखराको नयाँबजार स्थित गण्डकी मेडिकल कलेजबाट सुरु भएको बिरोध जुलुस पृथ्बीचोक, सभागृहचोक, न्युरोड हुदै मानवअधिकारचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । बिरोध जुलुसमा चिकित्सक सहित स्वाथ्यकर्मीहरुले “सुरक्षित साथै स्वतन्त्र बनाऔं, काम गर्ने वातावरण गराऔं ” , “स्वास्थ्य सेवामा सुरक्षाको सुनिस्चित गर”, लगायतका नारा लेखिएका प्ले कार्ड समेत प्रदर्शन गरेका थिए ।

चरीकोट अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी माथि भएको ज्यादतीको बिरोध गर्दै दोषि उपर कारवाहीको माग गर्दै आफुहरु आन्दोलनमा उत्र्रिएको मेडिकल अफिसर एशोसियशन कास्कीका अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठले बताए । उनका अनुसार भोलि आईतबार कास्कीका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले उक्त घटनाको बिरोध जनाउदै हातमा कालो पट्टी बाधेर काम गर्ने र सोमबार सम्म दोषी उपर कारवाही नभए कास्कीका सम्पुर्ण निजी तथा सामुदायिक अस्पतालका ओपीडी सेवा वन्द गराउने चेतावनी दिएका छन । आफुहरुको आन्दोलनमा नेपाल मेडिकल एशोशियसन, नेपाल नर्सीङ संघ लगायतको साथ र सहयोग रहेको डा. श्रेष्ठले बताए । उनले दोषी उपर सरकारले कारवाही गर्न ढिला गरे आफुहरुले ईमर्जेन्सी सेवा समेत ठप्प पारेर सडकमा उत्र्रिने चेतावनी दिए ।
सरकारले चरीकोट प्राथमिक स्वास्थ्य केन्द्रमा भएको घटनाका सम्बन्धमा छानबिन गरी तीनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरेको छ । स्वास्थ्य मन्त्री गगनकुमार थापाका सल्लाहकार प्रताप पौडेलका अनुसार स्वास्थ्य मन्त्रालयले मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमुख डा. रमेशविक्रम सिंहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बिहीबार गठन गरेको हो । समितिमा मन्त्रालयका उपसचिव कृष्णप्रसाद लम्साल र स्वास्थ्य सेवा विभागका शाखा अधिकृत दीपक रिजाल रहेका छन्। यही असोज ७ गते केन्द्रमा उपचारका क्रममा साढे दुई वर्षका बालक महादेव रिजालको मृत्यु भएपछि स्थानीयवासीले अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अमानवीय तरिकाले माफ माग्न बाध्य पारेको चिकित्सकहरुले आरोप लगाउदै आएका छन ।





