कालोबजारी गर्नेलाई बीस वर्षसम्म कारागार सजाय

 

काठमाडौँ –

आपूर्तिमन्त्री दीपक बोहराले सरकारले कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने गरी नयाँ कानुन ल्याउने तयारी गरिएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको अन्तक्र्रियामा मन्त्री बोहराले बजारमा अखाद्य वस्तु बिक्री गरी उपभोक्तालाई ठगी गर्ने व्यवसायीलाई आर्थिक दण्डका साथै पाँच वर्षदेखि २० वर्षसम्म कारागार सजाय गर्नेसम्मको व्यवस्था नयाँ कानुनमा गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले अहिले आफ्नो मन्त्रालयमार्फत काठमाडौँ उपत्यका तथा बाहिर पनि बजार अनुगमन तथा मूल्य वृद्धि नियन्त्रणको काम गरिरहेको जानकारी दिँदै दसैँतिहारमा चामल, दाल, चिनी, नुन, तेल लगायत अत्यावश्यक वस्तुको मूल्य वृद्धि नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार पछिल्लो समय बजार नियन्त्रणमा राख्न सफल भएको छ, अहिले बजारमा कहीँकतै पनि अखाद्य वस्तु पाइँदैन र म्याद नाघेका वस्तु भेटिँदैन ।” मूल्य वृद्धि नगर्ने विषयमा खुद्रा पसलेले सरकारलाई साथ दिएको बताउँदै उहाँले भन्नुभयो, “दसैँ, तिहारमा कुनै हालतमा पनि मूल्य वृद्धि हुँदैन, यदि भएको थाहा पाए हामीलाई खबर गर्नुहोस्, हामी तत्काल आइपुग्छौँ ।”

उहाँले पछिल्लो समय सरकारले ४५२ जना व्यापारीलाई कारबाही गरिसकेको जानकारी दिँदै कारबाही गर्नका लागि ऐन तथा कानुनमा केही प्राविधिक झमेला रहेको पनि प्रस्ट गर्नुभयो । उहाँका अनुसार सरकारले अखाद्य वस्तु नष्ट गर्ने अभियानमा करिब रु तीन करोड मूल्य बराबरको म्याद नाघेका वस्तु नष्ट गरिसकेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button