पूर्वगृहमन्त्रीको खोजी जारी

काठमाडौँ –

उपप्रधानमन्त्री विमलेन्द्र निधिले यही असोज ९ गते चितवनको घोप्टेभिरमा भएको जिप दुर्घटनामा परी बेपत्ता हुनुभएका पूर्वमन्त्री माधवप्रसाद घिमिरेको खोजीलाई निरन्तर जारी राखेको बताउनुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुखसँग समय लिएर गृहमन्त्री निधिले पूर्व गृह तथा परराष्ट्रमन्त्री घिमिरेका परिवारजनको निर्णयानुसार उहाँ दिवङ्गत भएको ठानेर यही असोज १४ गते कुशको प्रतीक बनाई अन्तिम संस्कार गरिएको पनि जानकारी दिनुभयो । गृहमन्त्रीले उक्त दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको पनि बताउनुभयो ।

गृहमन्त्री निधिले बितेका दुई महिनामा सवारी दुर्घटनामा परी तीन सय आठ जनाको मृत्यु भएको जानकारी पनि दिनुभयो ।

सांसदले सदनको शून्य र विशेष समयमा उठाउनुभएको प्रश्नको जवाफ दिने र जनप्रतिनिधिमूलक संस्थाको गरिमालाई उच्च बनाउने लक्ष्यका साथ आफूले जवाफ दिने प्रक्रिया सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

गृहमन्त्री निधिले सांसद योगेन्द्र तामाङ घिसिङ, यज्ञराज सुनुवार, विकास लम्साल, रामहरि खतिवडा, गुरुप्रसाद बुर्लाकोटी, रेखा शर्मा, योगेन्द्र चौधरी लगायतले गृह प्रशासन, बाढीपहिरो, भूकम्पपीडितले राहत नपाएको लगायत विषयमा सदनका विभिन्न बैठकमा उठाउनुभएको प्रश्नको जवाफ दिनुभएको थियो ।

गृहमन्त्री निधिले पछिल्लो दिनमा बढ्दो सवारी दुर्घटना न्यून गर्न नीतिगत रुपमा समेत कडा व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । सोका लागि आवश्यक सहयोगका निम्ति सरोकार भएका पक्षलाई आग्रह गर्नुभयो ।  रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button