पोखराको खानेपानी मुहानमै मुर्दा जलाइन्छ

केशवशरण लामिछाने,
पोखरा-
मणिपाल अस्पतालमा उपचार गर्दागर्दै ३ दिनअघि बितेकी एक महिलाको शव पोखराकै सेतीमा जलाइएन । ल्वाङघलेल गाउँकी उनको शव आफन्तले गावै पु¥याए अनि मर्दीखोलामा जलाए । उनीहरुले आफन्तको पार्थिव शरीर जलाएको ठाउँ स्थानीयहरुले वर्षौंदेखि प्रयोग गर्दै आएको शवदाहस्थल नै हो तर त्योभन्दा संवेदनशील कुरा के भने त्यही ठाउँबाट पोखरामा खानेपानी आपूर्ति हुन्छ । त्यो पनि थोरै होइन, पूरापूर जस्तै पोखरामा खानेपानी आपूर्तिको स्रोत त्यही मर्दीखोला मुहान हो ।

खानेपानी संस्थानले मर्दीखोलाबाट ल्याएको पानी वैज्ञानिक तवरको शुद्धीकरण बिना नै पोखरेली उपभोक्ताका घरमा पु¥याउँदै आएको छ । शुद्धीकरण नगरिएको पानी खाँदा हेपाटाइटिस र टाइफाइड जस्ता रोगहरु लाग्ने बताउँछन् डा. पदम खड्का । भन्छन्, ‘अरु फोहोरले ती रोग लाग्ने हुन्, पानीमा लास पोलेको खरानी आयो भने के के रोग लाग्छ लाग्छ ।’ यसै पनि लास जलाउने प्रक्रिया समेत वैज्ञानिक छैन । कतिपयले शरीरका जल्न बाँकी टुक्रा पानीमा छाड्छन् । ‘यो धेरै ठूलो समस्या हो’, डा. खड्काले भने ।

पानी प्रदूषणको प्रमाण जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीले फेला पारेकै पनि छ । केहीअघि मात्रै यहाँका सरकारी कार्यालयहरुका धारामा जिल्ला जनस्वास्थ्यका प्राविधिक टोलीले गरेको परीक्षणबाट पानीमा मानव स्वास्थ्यप्रतिकूल्का प्रशस्तै जीवाणु भेटेको थियो । पानीमा सबैभन्दा धेरै भेटिएको जीवाणु कोलिफर्म थियो । ‘पानीको मुहान प्रदूषित भएपछि कोलिफर्म देखिन्छ,’ जनस्वास्थ्यका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालले भनेका थिए । अहिलेसम्म संस्थानले आफ्नो रिजर्भवायरमा पोटास जस्ता रसायन हालेर जीवाणुरहित पार्दै आएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड अनुसार पानीमा धमिलोका मात्रा पाँचदेखि छ एनटिय हुनुपर्नेमा पोखराको पानीमा ६० एनटियु भेटिएको छ ।खानेपानी संस्थान पानीको मुहानमा शव जलाइन्छ भन्ने खबरबाट अनभिज्ञचाहिँ छैन । ‘यसबारेमा स्थानीयसँग पटकपटक कुरा भएको छ । उहाँहरु पानी प्रदूषण गर्नुहुन्न भन्ने पक्षमा पनि हुनुहुन्छ’, संस्थानको पोखरा कार्यालयका प्रमुख नीरण महर्जन भन्छन्, ‘तर मानिसको मृत्यु भइसकेपछिको संवेदनाका बेला यो कुरा कार्यान्वयन हुँदैन ।’ कतिपय बुझक्कीले भने पानी मुहानभन्दा मुन्तिर जलाएको पनि उनले सुनाए ।

खासगरी ल्वाङघलेलका बासिन्दाले शवदाह गर्ने घाट खानेपानी आपूर्ति हुने इन्टेक (मुहान) भन्दा ४ किलोमिटर माथि छ । छिमेकी गाउँकाले पनि पहिलापहिला मर्दीमै जलाउँथे । अचेल भने सेती र अरु खोलातिर जलाउँछन् । ल्वाङघलेलबासीले परम्परादेखि नै मर्दीमै जलाउँदै आएकाले त्यो चलन नटुटेको हो । स्थानीय अगुवा राम गुरुङ भन्छन्, ‘मर्दीबाट पोखरामा पानी लैजानुभन्दा अघिदेखि नै यहाँ शवदाहस्थल थियो । पानी लगिसकेपछि लास जलाउन सुरु गरिएको होइन ।’ गुरुङ पानीको मुहान माथि सार्न वा शुद्धीकरण गर्न संस्थानलाई सुझाउँछन् ।संस्थानले मर्दीबाट १६ र २० इन्चका पाइपबाट पानी आपूर्ति गर्छ । पोखराका उपभोक्ताका लागि संस्थानले दैनिक साढे ४ करोड लिटर पानी वितरण गरिरहेको महर्जन बताउँछन् । त्यसको ९० प्रतिशत आपूर्ति मर्दीखोलाबाट हुन्छ । महर्जनको भनाइ अनुसार अबको तीन वर्षमा पोखरेलीका धारामा शुद्ध पानी झर्नेछ । छान्ने वा उमाल्ने झन्झट उपभोक्ताले गर्नुपर्ने छैन । जापानी सहयोग नियोग जाइकाको सहायतामा संस्थानले पोखरामा खानेपानी ट्रिटमेन्ट प्लान्ट बनाउन लागेको जानकारी महर्जनले दिए । ‘५ अर्बको प्रोजेक्ट हो’, उनले  भने, ‘यो आर्थिक वर्ष सुरु गरेर २ वर्षमा सक्ने लक्ष्य छ ।’ उक्त परियोजना पूरा भए उपभोक्ताको धारामा दैनिक १० घन्टा शुद्ध पानी आउँछ ।

दैनिक ४२ हजार क्युबिक मिटर पानी प्रशोधन गरी उपभोक्ताका धारामा पु¥याउने योजना बनाएको संस्थानले  सोही प्रयोजनका लागि  १ सय ४० किलोमिटर भन्दा बढी पाइप फेर्दैछ । पोखरामा २०४४ सालमा १६ इन्चको पाइप मार्फत पानी वितरण गरिएको थियो । २०६८ सालमा मुहानदेखि २० इन्चको पाइपमा पानी ल्याइएको छ । संस्थानले ३ ठाउँमा रिजर्भवायर निर्माण गर्ने भएको छ । फूलबारी, पस्र्याङ र कोलपाटनमा रिजर्भवायर बनाउने तयारी छ । पर्स्याङ र कोलपाटनमा २०÷२० लाख र फूलबारीमा ५ लाख लिटर क्षमताको ट्यांकी बनाउने योजना हो । त्यसैका लागि हेम्जामा २२ रोपनी जग्गा किनिसकिएको छ । फोटो, स्रोत  – अन्नपूर्णपोष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button