क्यानडा–नेपाल संसदीय मैत्री सङ्घ गठन

काठमाडौँ –

पहिलो पटक क्यानाडा–नेपाल संसदीय मैत्री सङ्घको गठन भएको छ ।

क्यानडाको तल्लो सदन–हाउस अफ कमन्स् र माथिल्लो सदन सिनेटका सदस्यहरुको सहभागितामा सङ्घको गठन गरिएको हो ।

क्यानडा संसद्का उपसभामुख ब्रुस स्टान टनको अध्यक्षतामा संसदीय समितिको कक्षमा सम्पन्न बैठकले हाउस अफ कमन्सका सदस्य जेन तांगको अध्यक्षतामा सात सदस्यीय कार्यकारी समिति निर्वाचित गरेको क्यानाडाको ओटावास्थित नेपाली राजदूतावासले जनाएको छ।

सो अवसरमा नवनिर्वाचित अध्यक्ष तांगले दुई देशबीचको व्यापार र पर्यटन प्रवद्र्धनमा सङ्घले सक्दो सहयोग गर्ने बताउनुभयो ।

बैठकलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले सङ्घको गठनबाट दुई देशका सांसदबीच अन्तक्र्रियात्मक पारस्परिक सम्बन्ध विस्तार तथा आपसी व्यापार, लगानी र पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री शाहीले नेपालमा नयाँ संविधान जारी भएपछि मुलुकले राजनीतिक स्थिरता प्राप्त गरी आर्थिक विकासमा अघि बढेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को ३९ औँ महासभामा भाग लिन क्यानडा जानुभएका मन्त्री शाहीले क्यानडाको हाउस अफ कमन्सको सदस्य जेन तांगको निमन्त्रणामा त्यहाँको संसद्मा सम्बोधन समेत गर्नुभएको बताइएको छ ।

क्यानडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेलले नेपाल क्यानाडा संसदीय मैत्री सङ्घ गठन गर्ने आफ्नो प्रयासमा सहयोग गर्दै सबै संसद तथा सिनेटका सदस्यलाई धन्यवाद दिनुभयो ।

क्यानडास्थित आइकाओको मुख्यालय मन्ट्रियलमा यही असोज ११ देखि २१ सम्म चल्ने महासभामा भाग लिन मन्त्री शाही त्यसतर्फ जानुभएको थियो । उहाँ असोज २१ गते नै स्वदेश फर्कने कार्यक्रम छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button