काठमाडौँ –
राष्ट्रपति विद्यादेवी भण्डारीले भएका ऐन-कानुनको कार्यान्वयनसँगै चेतनामार्फत मुलुकमा व्याप्त सबै प्रकारका विभेद तथा प्रथाको अन्त्य गरिनुपर्ने बताउनुभएको छ ।
पाँचौँ अन्तर्राष्ट्रिय बालिका दिवस–२०१६ का अवसरमा समग्र राष्ट्रिय किशोरी सञ्जालद्वारा राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित ‘राष्ट्रपतिसँग बालिका’ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मुलुकमा व्याप्त बाल विवाह, बोक्सी प्रथा तथा छुवाछूतजस्ता समाजका कु–प्रथालाई चेतनामार्फत अन्त्य गरिनुपर्ने धारणा राख्नु भयो ।
राष्ट्रपति भण्डारीले समाजको हरेक क्षेत्रमा रहेको महिला र पुरूषबीचको विभेदको अन्त्य गर्दै नेतृत्वका लागि महिलाको क्षमता विकासमा जोड दिनुभयो ।
व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीले मुलुकमा संविधान जारी भइसकेका अवस्थामा त्यसको कार्यान्वयनसँगै देशलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।
सञ्जालका अध्यक्ष मोनिका रानाभाटले राष्ट्रपति भण्डारीसमक्ष ‘बालिका सरकारको नीति तथा कार्यक्रम’ प्रस्तुत गर्दै लिङ्गका आधारमा गरिने विभेद अन्त्यका लागि सबैको उत्तिकै भूमिका हुने बताउनुभयो । रासस





