पोखरा –
पोखरा–२५ पुम्दीभुम्दी स्थित धारापानीचोकमा आज (शुक्रबार) विहान बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
पोखरा–२५ कै लुकुनस्वाँराबाट पोखरा आउँदै गरेको पोखरा बस ब्यबसायी समितिद्वारा सञ्चालित ग.१ ख.६७९४ नम्बरको माइक्रो बस पुम्दीभुम्दीको धारापानीचोकमा विहान करीब ९ बजे दुर्घटना हुँदा १५ जना घाइते भएको कास्की प्रहरीले जनाएको छ।
घाइते मध्ये सवै जना खतरा मुक्त रहेको अस्पताल श्रोतले जनाएको छ । घाईते हुनेहरु मध्य एक जनाको फेवा सिटि हस्पिटलमा एक जना र बाँकी १४ जनाको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी गजुसिद्धि बज्रचार्यले बताए । घाईते हुनेहरुमा पोखरा २५ का ४४ बर्षीय पियारी पौडेलको फेवासिटिमा उपचार भएको छ । त्यसै गरी अन्य घाईतेहरुमा पोखरा २५ की १९ बर्षीया लक्ष्मी विक, स्थानीय २२ बर्षीय सन्जु सुनार,३१ बर्षीया मीना कुमारी बराल, २३ बर्षीया राधा भुजेल, ४ बर्षीय वालिका रोजिना भुजेल, ६८ बर्षीय चेतभक्त बराल, ३५ बर्षीय ग्रंंगा पौडेल सामान्य घाईते भएका छन । त्यसै गरी घाईते हुनेहरुमा पोखरा २५ कै ७० बर्षीय पदम भुजेल, २५ बर्षीया मिरा विक, ६२ बर्षीया कला बहादुर विक, २६ बर्षीया सीता बराल, ५३ बर्षीय चक्रपाणि बराल,१७ बर्षीया विमा नेपाली र ५३ बर्षीय वालकृष्ण बराल रहेका छन । घाईतेहरुको टाउको, हात खुट्टा र शारीरमा सामान्य चोट लागेकोे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखराबाट गइरहेको अर्को एक बसलाई साइड दिन खोज्दा बस पल्टिएको स्थानियबासीले बताएका छन् । सहचालकले बस चलाइरहेको समयमा बिपरित दिशाबाट बस आएको देखेपछि चालक विमल केसीले बस चलाउँदै साइड दिन खोज्दा बस विपरित साईडमा पल्टिन पुगेको छ । चालकको लापरवाहीको कारणले गर्दा वस दुर्घटना भएको उक्त वसको देब्रे साईड हुदा हुदै दाया साईडमा वस लगेर पल्टाएको स्थानीय नवराज बरालले आरोप लगाएका छन । उनले भने “दशैंको मुखमा यस्ता लापराही धन्न वस एक वर्ल्याङ मात्र पल्टन पुग्यो, अर्को वर्ल्याङ पल्टेको भए कति हताहति हुनेथिए, यस्ता चालकलाई कडा कारवाही हुनु पर्दछ । ” तर ब्याक गर्ने क्रममा बस ह्वात्तै ब्याक हुँदा बस बाटोबाट करीब ३ मिटर तल खसेर पल्टिएको स्थानीयले बताए। ब्याक गर्ने क्रममा चालकले मिरर ग्लास नहेरी र सहचालकसँग सहायता पनि नमाग्दा दुर्घटना भएको यात्रुले आरोप लगाएका छन् । पोखरा ८ पृथ्बीचोक घर भएका चालक विमल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





