विधिपूर्वक दसैँघरमा फूलपाती भित्र्याइयो

काठमाडौँ –

बडादसैँको नवरथाको सप्तमीका दिन हनुमानढोका दरबारस्थित दसैँघरमा यस वर्षका लागि आज फूलपाती भित्र्याइएको छ ।

सरकारी कर्मचारी, हनुमानढोका दरबार हेरचाह अड्डाका प्रतिनिधि तथा विभिन्न सांस्कृतिक बाजागाजा, सुरक्षाकर्मीको लावा लस्करसहित जमलबाट फूलपाती हनुमानढोका ल्याइएको हो । प्रत्येक वर्ष फूलपातीका दिन राजकीय सम्मानका साथ फूलपाती भित्र्याइने परम्पराअनुसार सो अवसरमा गुर्जुको पल्टनले तोप पड्काएको थियो ।

fulpati

कार्यालयका निर्देशक सरस्वती सिंहले अघिल्लो दिन हनुमानढोकाका केही प्रतिनिधिलाई फूलपाती लिन धादिङको जीवनपुर पठाइएको जानकारी दिँदै उनीहरूले आज बिहान आँप, चाँप, धानको बाला, रङ्गीचङ्गी फूल, असुरोको पात, बेलको पातसहित फूलपाती जमल ल्याएको बताउनुभयो ।

हनुमानढोकाबाट फूलपाती लिन धादिङ गएका प्रतिनिधिले अघिल्लो दिन राति त्यहाँ बोका, भेडालाई बलि दिएर परम्परागतरूपमा भोज खाएपछि फूलपाती काठमाडौँमा ल्याउने परम्परा छ ।

मल्लकालीन समयदेखि चल्दै आएको फूलपाती भित्र्याउने सो परम्परालाई आधुनिक नेपालको विकास भएपछि शाहवंशीय शासनकालमा निरन्तरता दिँदै गोर्खाबाट समेत फूलपाती ल्याएर दसैँ घरमा मिसाउने गरिएकोमा अहिले पनि सोही परम्परालाई कायम गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button