पोखराको तालबाराही मन्दिरमा दर्शनार्थीको भीड

पोखरा –

पर्यटकीय नगरी पोखरास्थित फेवातालको बीचभागमा अवस्थित तालबाराही मन्दिरका दर्शनार्थीको भिड बढ्नाले उनीहरुको सुविधाका लागि ३५ वटा डुङ्गा परिचालन गरिएको छ ।

परापूर्वकालदेखि दसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन तालबाराही मन्दिरको दर्शनका लागि आउने श्रद्धालु भक्तजनको सुविधाका लागि डबल डुङ्गासहित ७० जना चालकको व्यवस्था गरिएको हो ।

बाराहीघाटदेखि मन्दिरसम्म ओहोरदोहोर गरेको रु ६० र लाइफ ज्याकेटको छुट्टै प्रतिव्यक्ति रु १० लिने गरेको फेवाताल डुङ्गा व्यवसायी समितिका उपाध्यक्ष बलिप्रसाद गुरुङ बताउनुहुन्छ । उहाँका अनुसार आज बिहान मिर्मिरेदेखि भक्तजनको अत्यधिक भीड लागेको र पाँच हजारजनाभन्दा बढी दर्शकले बाराही मन्दिरको दर्शनका लागि टिकट काटेर डुङ्गा चढेका छन् ।

अन्य शक्तिपीठमा नवदुर्गा दर्शन गर्ने गरिएपनि दसैँको अन्तिम दिन फेवातालमा डुङ्गा चढेर तालबाराहीको दर्शन गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ भक्तजन आउने गरेको उपाध्यक्ष गुरुङ बताउनुहुन्छ ।

अघिल्लो वर्षको तुलनामा यसवर्ष पूर्णिमाका दिन भक्तजनको सङ्ख्यामा वृद्धि भएपनि दसैँका नौ दिनसम्म तालबाराही दर्शन गर्ने दर्शनार्थी भने घटेको समितिकी सदस्य तारा विक बताउनुहुन्छ । उहाँका अनुसार एउटा डबल डुङ्गामा ११ देखि १२ जना राख्ने गरेको र सुरक्षाका लागि तालबाराही मन्दिरको दर्शन तथा डुङ्गा सयर गर्ने सम्पूर्णका लागि लाइफ ज्याकेट अनिवार्य गरिएको छ ।

फेवातालका विभिन्न आठवटा घाटमार्फत सिङ्गल, डबल र पेडल गरी कुल ७२४ वटा डुङ्गाले धार्मिक एवम् अन्य पर्यटकलाई सुविधा पुगेको छ भने दर्शनार्थीको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको मोटर बोटले समेत गस्ती गर्दै आएको सदस्य विक बताउनुहुन्छ ।

प्राचीनकालदेखि पारिवारिकरुपमा मन्दिर दर्शन गरेर निधारमा रातो टीका र शिरमा जमरा लगाएर तालको छेउमा बसेर भोज खाने गरेको भएपनि पछिल्लो समयमा मन्दिर दर्शनबाहेक अन्य प्रचलनमा कमी आएको तालबाराही मन्दिर संरक्षण समितिका सदस्य महेन्द्र श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार पोखरा आसपासलगायत स्याङ्जा, पर्वत, बागलुङ, तनहुँ, गोर्खा, लमजुङ, काठमाडौँ, चितवनलगायत विभिन्न जिल्लाबाट बाराही मन्दिरको दर्शन गर्न भक्तजन आउने गरेका छन् । मन्दिर पछिल्लो समय आन्तरिक एवम् बाह्य पर्यटकको समेत गन्तव्य बन्दै गएको छ ।

दसैँलाई नै लक्ष्यित गरी बाराहीघाटस्थित फेवाताल किनारामा राखिएको काठको चौडाले र बाँसको लिङ्गे पिङ खेलेर मनोरञ्जन लिनेहरुको पनि आज बिहानैदेखि भीड लागेको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button