फोहर पोखरी बन्यो पोखराको तीर्थस्थल

पोखरा –

प्रदूषित पानी र चौतर्फी फोहरका कारण डम्पिङ साइटमा परिणत पोखराको एक ऐतिहासिक पोखरी यतिखेर महत्वपूर्ण तीर्थस्थल बनेको छ।

फोहर थुपार्ने गरिएको पोखरा उपमहानगरपालिका–७ मासवारस्थित पोखरीपाटनमा अवस्थित पोखरी संरक्षणसँगै बीच भागमा मन्दिर निर्माण गरी लक्ष्मीनारायणको मूर्ति स्थापना गरेपछि तीर्थस्थलमा परिणत भएको हो ।

पोखरीको चारैतर्फ पक्की पर्खाल, जमिनमा छ इन्चको ढलान गरी पानी सङ्कलन र पानीमाथि लगभग पाँच फिटको उचाइमा निर्माण गरिएको मन्दिरसहितको सम्पूर्ण संरचना तयार गर्दा लगभग रु ५२ लाख खर्च भइसकेको पोखरी संरक्षण तथा धार्मिक क्षेत्र निर्माण समितिका अध्यक्ष नारायण बराल बताउनुहुन्छ । उहाँका अनुसार निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम क्षेत्र नं ३ को रु १५ लाखबाट निर्माण सुरु गरिएको उक्त निर्माण कार्यमा पोखरा उपमहानगरपालिकाबाट रु १७ लाख ३३ हजार र रु २० लाख बराबरको जनश्रम जुटाइएको थियो ।

“पोखरा उपत्यकाको बस्ती विकाससँग जोडिएको पोखरी संरक्षण र संवद्र्धन गरी धार्मिक एवम् पर्यटकीय क्षेत्रका रुपमा विकास गरेर आन्तरिक एवम् बाह्य पर्यटक प्रवद्र्धन गर्ने स्थानीय बासिन्दाको लक्ष्य छ” – अध्यक्ष बरालले भन्नुभयो ।

सराङकोटस्थित मेथलाङखोलाबाट कुुलो खनेर प्राचीनकालमा ल्याइएको पानी पोखरीमा सङ्कलन गरी पिउन, तरकारी खेती गर्न र गाईबस्तुलाई समेत प्रयोग गर्ने गरिएको हुँदा सो पोखरीको महत्व बढेको समितिका उपाध्यक्ष एवम् आर्थिक संयोजक लीलाभक्त बरालको भनाइ छ । उहाँका अनुसार तीन हजार ९४४ वर्गफिटमा फैलिएको सो सार्वजनिक जग्गाको अगाडि ज्येष्ठ नागरिक विश्रामस्थल र प्रदक्षिणा मार्ग निर्माण गरिएको छ । सिंगमर्मरको सो मूर्ति रु ९२ हजारमा खरिद गरिएको र मन्दिरको चार कोणमा रु एक लाख १८ हजारको लागतमा सोलार बत्ती जडान गरिएको छ ।

पोखराको थप एउटा गहनाका रुपमा निर्मित लक्ष्मीनारायण मन्दिर र परिसरको संरक्षणसँगै धार्मिक पर्यटन प्रवद्र्धन गर्न सके सो क्षेत्रको विकासमा टेवा पुग्नुका साथै पर्यटकको बसाइ लम्ब्याउन सकिने महिला वडा नागरिक समन्वय समिति पोखरा–७ की संयोजक प्रभा पन्त बताउनुहुन्छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button