पोखरेली कवि तीर्थका कविताको बेल्जियममा वाहवाही

पोखरा –

एकछिन सुस्ताउन देऊ लाहुरे फूल !
म घाउको पत्र पल्टाएर
सन्धिको इतिहास फेर्न चाहन्छु
म घाउ सुमसुम्याएर
रगतको व्यापार बन्द गर्न चाहन्छु
म यो इतिहासको कालो पानालाई
च्यातेर फाल्न चाहन्छु
पर्ख ! लाहुरे फूल
म तिम्रो नाम फेर्न चाहन्छु ।

tritha-shrestha

कवि तीर्थ श्रेष्ठले यो कविता वाचन गर्दा बेल्जियमको लुभेन सहरमा भेला भएका कविता प्रेमीले ताली बजाएर हौसलामात्र बढाएनन् फेरि भन्नका लागि आग्रह गरे । घरदेशको सम्झना बोकेर बेल्जियम बसेका र आसपास देशका कविताप्रेमीसमेत २३ अक्टोबर अर्थात कात्तिक ७ गते लेभेनमा जम्मा भएका थिए । इन्द्रधनुष क्लब लुभेनले कवि तीर्थका कविता सुन्ने चाँजो मिलाएको हो । कविता, मुक्तक र गजल वाचन गरेका श्रेष्ठले घरि भावुक, गम्भीर बनाए घरि कविताको सन्दर्भ र प्रसंगहरुले दर्शकलाई रोमाञ्चित बनाए ।

आमा दिनभर ढिकीजाँतो गरेर थाकेकी छे
तै पनि सन्तानले सुख पाउन्नन कि भनेर कापेकी छे
यसरी हरेक घरमा ईश्वरभन्दा महान आमा बाँचेकी छे ।

आमा सम्झँदै यो कवितामार्फत एकल कविता वाचनको मेलो थालेका श्रेष्ठले सुरुमै सबैलाई भावुक बनाए । साहित्यानुरागीलाई आफ्ना कविता सुनाउन पुगेका श्रेष्ठले पहिलो कविता नै संसारभरका आमाको नाममा समर्पण गर्दैे आमाको महिमा गान गरे । हरेक घरमा ईश्वरभन्दा महान आमा बाँचेको सगर्व घोषणा गरे ।

कवितामा अन्नपूर्ण आधार शिविर जाँदाका दिन सम्झिए, त्यही यात्राले जन्माएको अन्नपूर्ण वरिपरिपछि उनले चर्चित ‘बाघ’ सुनाउँदा झन् बढी वाहवाही पाए । कविता सुनाइरहँदा उनी जीवन र जगतसँग असाध्यै निकट भए । लुभेनस्थित स्थानीय सभागृह ओन्स हाउसमाउपस्थित कविताप्रेमीहरुको मनमा घरदेश र महत्व अझ बढी जगाइदिए ।

हिउँमा लेखेर आएका छौँ
हामीले आ–आफ्ना नामहरु
एकैछिनपछि घाम लाग्यो भने
रहने छैनन् हाम्रा नामहरु
एकैछिनपछि हिउँ थपियो भने
पनि रहने छैनन् हाम्रा नामहरु
हामी हुँदै नरहने हाम्रा नामहरु,
हामी नै नभएपछि कसरी रहलान् हाम्रा नामहरु !

यो कविता सुनाउँदा दर्शकको ताली रोकिएनन् । थोरै कविता सुनाएरै धेरै वाहवाही पाए कवि तीर्थले । पटकपटक स्रोताको ताली र वान्स मोर गुन्जिरहँदा दुई दर्जन बढी सिर्जना सुनाउँदै कविले कार्यक्रमको बिट मारेका थिए । कविताले धित नमरेपछि कार्यक्रम सकिएपछि पनि उनले कविता सुनाउनु परेको थियो ।

tritha-shrestha-2

कवि श्रेष्ठले पागलहरु, चुपचाप, म यशोधरा, प्रेमको पुस्तक, अन्नपूर्णको वरिपरी, भूगोलले मात्र देश बाँच्दैन, बाघ, राजधानी, कविहरु र सत्ता, लगायत कविताका साथमा केही मुक्तक र गजल वाचन गरे । क्लबका उपाध्यक्ष एवं कार्यक्रम संयोजक भोजबहादुर जिसीले कवि श्रेष्ठ आफैं एक परिचय रहेको भन्दै उनको चिनारी प्रस्तुत गरेका थिए । कवि श्रेष्ठका कविता जिन्दगीका जटिलतालाई सरल ढंगले संप्रेषित गर्न र पाठकका हृदयमा बास बस्ने सफल रहेको जिसीले प्रस्टाए ।

कार्यक्रममा लुभेनका नेपाली समाजका साहित्यिक व्यक्तित्वका रुपमा परिचित र नेपाली समाजका महत्वपूर्ण व्यक्तिहरुको बाक्लो उपस्थिति थियो । एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतम, एनआरएनका केन्द्रीय सचिव अर्जुनकुमार श्रेष्ठ, बेल्जियमा स्थित नेपालका कावा राजदुत घनश्याम भण्डारीले कार्यक्रममा मन्तव्य राखेका थिए । बेज्जियमा रहेका कवि दिपेन्द्र केसी, विमल गिरी र सौरभ रंजितकारले कवि श्रेष्ठसँग पुस्तक विनिमय गरेका थिए ।

पोखरेली युवा सांस्कृतिक परिवारका सल्लाहकार समेत रहेका र वरिष्ठ संस्कृतिकर्मीको रुपमा समेत चिनिएका कवि श्रेष्ठ नेपालीपनका कवि बेल्जियममा प्रस्तुत गर्न पाउँदा खुसी लागेको क्लबका अध्यक्ष मिन गुरुङले बताए । क्लबले साहित्यक, सांस्कृतिक लगायत थुप्रै कार्यक्रम गर्दै आएको र यसपटक कवि श्रेष्ठलाई प्रस्तुत गरिएको महासचिव वुद्ध बस्नेतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button