भारतीय राजदुतावासका कारण पेन्सन पाउन सास्ती,
पोखरा-
भारतीय भूतपूर्व गोर्खा सैनिकहरुले भारतीय राजदुताबासको लापरबाहीका कारणले आफूहरुले अनेकन दुःख: झेलिरहेको बताएका छन् ।
भारतीय सेनाबाट निबृत्त भएका पेन्सनरका परिवारलाई आवश्यक कागज पत्रको आधारमा पेन्सन नदिदा भूपू सैनिक तथा उनका परिवारले सास्ती भोग्नु परेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताइएको हो ।
पेन्सन प्राप्त गर्ने बेलामा विवाह दर्ता, विवाह अघिको डकुमेन्ट, सपोटिङ्ग डकुमेन्ट, लगायत विभिन्न अनाबश्यक कागजात खोजेर दु:ख: दिईने गरेको एक्स सर्भिसमेन सेल पोखराका संयोजक कर्नेल कमानसिंह गुरुङले बताए । भारतिय कानुनमा जुन सेवा सुबिधा त्यहाका सैनिकले पाउदछन सोहि सुबिधा नेपाली सैनिकले पनि पाउने ब्यबस्था रहेको बताउदै गुरुङले यस्तो समस्या भारत सरकारको तर्फबाट नभई भारतिय राजदुताबासको कारणले सिर्जना भएको बताए । उनले भने “ सन १९८९ बाट फ्यामिली पेन्सन डकुमेन्ट बिवरण अपडेट गर्न सुरु भए पछि परिवारको नाममा हुने सम्पुर्ण कागजात पेन्सन पेईङ अफिस (पिपिओ) र रेकर्ड कार्यालयले राख्न थालेको हो । नेपाली जवान भारतिय सेनामा भर्ति हुने बेलामा कसैले पल्टन अनुसारको थर राखेर त कसैले भारतको ठेगाना राखेर भर्ति भएकाले सर्टिफिकेट त्यहि अनुसार बन्ने तर नेपालमा नागरिकता लिने बेलामा यथार्थ बिवरण भरेर लिईने गरेकाले नेपाली नागरिकता लाइ हेरेर यो गलत छ भन्दै परिवारलाई पेन्सन नदिने गरेको गुरुङले बताए । भारतीयलाई सर्टिफिकेटकै आधारमा पेन्सन प्रदान गरिने भएकाले आफुहरुले पनि सर्टिफिकेटकै आधारमा पेन्सन प्राप्त गर्नुपर्नेमा सपोटिङ्ग डकुमेन्ट (नागरिकता ) खोजेर पेन्सन पेईङ अफिसले दुख दिदै आइरहेको गुरुङले बताए ।
बास्तबिकता पुस्टि हुने गरेर नियम सङ्गत ढङ्गवाट आवश्यक कागजात पेश गर्दा पनि केहि नेपाली भूपू सैनिकका परिवारले पेन्सन नपाउनु ठुलो दुःखको कुरा हो । पहिलेको श्रीमतीको मृत्यूपछि दोश्रो विवाह गरेका सैनिकको श्रीमती, इस्वी सम्वत र विक्रम सम्वत बिचको अन्तरका कारण जन्म, मृत्यु, विबाह आदिको मितिमा तालमेल नमिल्दा समेत भूपू सैनिक तथा परिवारले समस्या भोगिरहेको उनको दाबी छ । उनले भने “हामीले सम्वन्धित गाविस÷वडा कार्यालयबाट सत्यतथ्य विवरण पेश गर्दा पनि भारतीय पेन्सन क्याम्पले त्यसको मान्यता नदिदा हामी धेरै जना पिडित भएका छौं, न हामी भारतीय पेन्सन क्याम्पमा पुगेर आवाज उठाउन नै सक्छौं, चिठी मात्र लेख्दै यसो गर्नु पर्यो भनेर अनुरोध पत्र मात्र देख्दै आएका छौं । ” फौजीहरुको लागी भारतीय रास्ट्रपति सुप्रिम कमान्डर रहने भएकाले उहाँ पोखरा आएको बेलामा आफुहरुले दुखेसो ब्यक्त गर्न चाहेको गुरुङले बताए ।
नेपालमा भारतिय दुतावासले पेन्सन बाड्ने र कागजात को ब्यबस्थापन गर्ने दुइ थरि कार्य गर्ने गरेकोमा पेन्सन बाढ्ने कार्य राम्रो भएतापनि कागजात को ब्यबस्थापन को पाटोमा भारत सरकारको कानुनविपरित मनोमानी ढंगले चलिरहेको र अनाबश्यक दुख दिईरहेको उनले बताए । भारतका पेन्सनरको मृत्यु हुने बित्तिकै मृत्यु दर्ताको प्रमाणपत्रले विधवाले पेन्सन पाउने भए पनि नेपालीलाई पेन्सन पेइङ अफिसका कर्मचारीले अनेकन कागज खोज्नु गलत भएको गुरुङले सुनाए ।
भारतीय सेनामा निबृत्त भएका कतिपयका परिवारले पेन्सन पाउने आसैआशमा यो संसारलाई छाडेर गएभने केहिले अझै पनि पेन्सन पाउने आशामा लाखौं खर्च गरेर हिडीरहेका छन । कास्की सिक्लेसका बुद्धि बहादुर गुरुङ को मृत्यु भए पछि उनकी श्रीमती भिम कुमारी गुरुङले पेन्सन पाउने आशामा देश विदेश धाउदा धाउदै करीब ७ लाख खर्च भई सकेको उनले गुनासो गरीन । जेठी श्रीमतीको मृत्यु पछि २०५६ सालमा बुद्धि बहादुरसंग कान्छी श्रीमतीको रुपमा आएकी भिम कुमारीको हाल १३ बर्षको छोरालाई पालनपोषण गर्न कठिन भएको छ । ३ बर्षको छोरा हुदा श्रीमानको निधन पछि घरमा आयश्रोत नभएको हुनाले पनि हाल आफ्नो परिवार धान्न कठिन भएको उनले गुनासो गरीन ।
त्यस्तै करीब ६ बर्ष अघि आफ्ना श्रीमान युरो गुरुङलाई गुमाएकी मुघा गुरुङ पनि आफुले पाउनु पर्ने पेन्सन नपाउदा निरास भएकी छन । ७० बर्षीया मुघालाई अब आफ्ना श्रीमानको पेन्सन पाउने आशा पनि मरेर गयो । गत दशैं पर्वको अवसरमा भारतीय पेन्सन क्याम्पबाट पेन्सन पाउन नसक्ने कुराको फोनबाट जनाकारी भए पछि उनले अब पेन्सन पाउने कुनै आशा गरेकी छैनन । उनले भनिन “ मेरा श्रीमानसंगै गएका सयौं सेनाका परिवारले घरमै वसि वसि मेहनतको फल पेन्सन पाउछन तर आफ्नो त भाग्य नै छैन । ”
भारतीय राष्ट्रपति प्रणव मुखर्जी पोखरा आउदा उनी समक्ष केहि भारती सेनाका निबृत पेन्सनरहरुले पेन्सनमा देखिएको समस्या बारे माग पत्र पेश गर्ने तयारी गरे पनि हालसम्म माग पत्र पेश गर्न पाउने कुनै टुङ्गो लागेको छैन । भारतीय पेन्सन क्याम्प पोखरामा हाल ६३ हजार जनाले पेन्सन बुझ्ने बताईन्छ । नेपालमा भने यो सङख्या करीब एक लाख २६ हजार रहेको भारतीय भुपु सेनाहरुले बताउछन ।
आफूहरुको बिरोध भारत सरकार, भारतीय राष्ट्रपतिबिरुद्ध लक्षित नरहेको स्पष्ट पार्दै कमानसिंह गुरुङले भारतीय दुतावास र पेन्सन क्याम्पका कर्मचारीको ढिलासुस्ती र लापर्वाहीले गर्दा समस्या भएकाले सुधार्नका लागि दवाब दिन खोजेको जानकारी गराए । यसअघी भारतीय सैनिकका उच्च अधिकृत, भारतीय दुतावासलगायतमा ध्यानाकर्षण गराउँदा पनि समस्या नसुल्झिएकाले भारतीय राष्ट्रपति पोखरा आएको बेला आम संचारमार्फत आफ्ना पीडाहरु बाहिर ल्याएको बताए ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जी ३ दिने नेपाल भ्रमणको क्रममा कात्तिक १९ गते शुक्रबार पोखरा आउने कार्यक्रम छ ।





