लेखनाथमा अझै गुन्डागर्दी

पोखरा-
कास्कीमा गुन्डागर्दी निर्मुल भयो भनेर तत्कालीन एसपी रमेश खरेलले सार्वजनिक समारोहमा भनेका थिए । हुन पनि २०६६/६७ तिर खरेलले टोले गुन्डाको सातो खाएका थिए ।

खरेलकै कारण त्यसबेला केही सुध्रिए भने केही विदेश पलायन भए । तर अहिले पनि लेखनाथ नगरमा भने बेला–बेलामा टोले गुन्डा हर्कत देखाइरहन्छन् ।

गत वर्ष लेखनाथमा दुईजना व्यक्तिमाथि खुकुरी प्रहार गरेर हङ्गामा मच्चाएका थिए अभिषेक सुनारले । त्यतिमात्र होइन धेरैलाई धम्काउने र कुट्ने गरेको भन्दै अभिषकविरुद्ध उजुरी पर्दा समेत राजनीतिक आड लिएर उम्किएपछि स्थानीय त्रसित भएका थिए ।

इलाका प्रहरी कार्यालय सिसुवाले त्यतिखेर त्यो घटनालाई थमथम्याएर साम्य बनाएको आरोप लागेको थियो । त्यही भएर पनि होला कास्की प्रहरीका तत्कालीन प्रमुख हरिबहादुर पालले जिल्लाबाटै प्रहरी खटाएर अभिषेकलाई पक्रे । प्रहरीले अभिषेकलाई ब्राउन सुगरसहित पक्रेर कानुनी दायरामा ल्याएका थियो ।

गुन्डागर्दीको वृत्तमा अफगानिस्तान भनेर चिनिने लेखनाथमा अझै पनि कुटपिट र धम्कीका घटना गुपचुप मिलाउने चलन छ । त्यो पनि पीडितलाई रिजाएर होइन, धम्काएर । हालै लेखनाथमा घटेको खुकुरी काण्डभएको छ । तर, त्यो पनि गुपचुपै छ ।

घटना भाइटीकाको भोलिपल्टको हो । लेखनाथ–१ भण्डारढिकका मुकेश लामिछाने गुरुङमाथि लक्की पुनले खुकुरी हाने । कात्तिक १७ गते राति गुरुङमाथि खुकुरी हानेका पुन फरार छन् । राति१० बजेतिर मुकेश केही साथीहरुसँग भण्डारढिक घर नजिकै भैलो खेलेको हेर्दै थिए ।

त्यही बेला लक्की पुन र उनका साथीहरु होहल्ला गर्दै बाइकमा आए । त्यत्तिकैमा मुकेशले ‘किन यसरी बाइक कुदाएको भाइबहिनीहरु भैलो खेलेको देखेनौरु’ भने । एउटै भेगका मुकेश र लक्कीबीच चिनजान समेत थियो । रक्सीले मात्तिएका लक्कीले अपशब्द प्रयोग गर्दै ‘मलाई रोक्ने तँ को होस्रु’ भन्दै बखेडा झिके ।

त्यो संवादले ठूलो रुप नलियोस् भनेर स्थानीयले उनीहरुलाई छुट्याए । तर लक्की जंगिँदै घर गई खुकुरी लिएर आए । मुकेश त्यही ठाउँमा भैलो हेर्दै थिए । त्यत्तिकैमा लक्की आएर सोझै एक हातको खुकुरीले मुकेशको घाँटीमा ताकिहाले ।

मुकेशले हातले छेके । तर उनको देब्रे हातमा खुकुरीले लाग्यो । उनी भुइँमा लडे । नाकमा चोट लाग्यो । लक्कीले फेरि हान्न खोज्दै थिए तर स्थानीयले जोगाए । लक्की त्यहाँबाट भागे ।

रगत्ताम्मे मुकेशलाई उपचार गर्न नजिकैको मेडिकल पुर्‍याइयो तर राति अबेर भएका कारण मेडिकल खुलेन । त्यसपछि मुकेशलाई अरु २ जनाले मोटरसाइकको बीचमा राखेर सामुदायिक अस्पताल पुर्‍याए ।

हातको अवस्था देखेपछि डाक्टरले त्यहाँ उपचार नहुने बताए । त्यसपछि मुकेशलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकी पुर्‍याइयो । मुकेशको गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

दोषीलाई कडा कारवाहीको माग राख्दै मुकेशका दाइ डम्बरबहादुर गुरुङले इलाका प्रहरी कार्यालय सिसुवामा उजुरी दिएका छन् ।चिनजानको साथी भएर पनि सामान्य कुरामै लक्कीले आफूलाई खुकुरी प्रहार गरेको मुकेशले समाधानलाई बताए ।

‘यसअघि पनि यसरीनै झगडा गर्दै हिँड्थ्यो,’ उनले भने, ‘दाइको आड पाएको हुनाले आफ्नो मनपरी गर्दै हिँड्छ ।’ सामान्य भनाभनलाई लिएर गुन्डा पारा देखाएको उनले बताए ।

‘अब कसरी काम गरेर खानेरु,’ उनले हात देखाउँदै भने, ‘त्यो फरार छ, लक्कीको दाइ पूर्णले हिजो १५ हजार दिएर गएको छ ।’ लक्कीलाई छिट्टै पक्रेर कारबाही गर्नुपर्ने उनको माग छ ।

लक्की पुन यसअघि पनि धेरै घटनामा संलग्न भएको प्रहरी स्रोत बताउँछ । लेखनाथको ‘२७ रोपनी जग्गा काण्ड’मा पनि लक्कीको नाम मुछिएको थियो । केही वर्षअघि उनले एक युवतीमाथि दुव्र्यवहार गरेको घटनाले पनि उनलाई विवादमा तानेको थियो ।

दोहोरीमा गएर झगडा गर्ने, स्थानीयलाई थर्काउने लक्कीका लागि सामान्य रहेको प्रहरी स्रोतले बतायो । लक्की ४ वर्षअघि प्लटिङ व्यवसायमा छिरेको स्रोतले बतायो । ‘त्यसबेला लेखनाथको केही नाम चलेका टोले गुन्डासँग उसको उठबस थियो,’ स्रोतले भन्यो, ‘अहिले ऊ आफै नाइके बन्यो ।’

खुकुरी हानेको घटनाबारे उजुरी परेको इलाका प्रहरी कार्यालय सिसुवाका प्रमुख मदनजित महरालेजानकारी दिए । ‘घटनाको अनुसन्धान हुँदैछ,’ उनले समाधानसँग भने, ‘गल्ती गर्नेलाई कुनै हालतमा छाडिँदैन, कानुनको दायरामा ल्याउँछांै ।’

‘कडा इन्स्पेक्टर चाहिन्छ’
कुनै बेला लेखनाथमा नाम चलेका टोले गुन्डा यति बेला थन्किएका छन् । तर तिनीहरुकै औंला समातेर हिँडेका केही युवा भने यति बेला सक्रिय हुन थालेको स्थानीय बताउँछन् । लेखनाथमा जब प्लटिङ सुरु भयो, त्यहाँबाट टोले गुन्डापनि सल्बलाउन थाले ।

२०६७ सालतिर लेखनाथमा जग्गा व्यवसाय फस्टायो । त्यसपछि त्यहाँ टोले गुन्डाको चलखेल बढ्न थाल्यो । एकातर्फ टोले गुन्डा सल्बलाउनु र अर्कोतर्फ लेखनाथ हेर्ने जिम्मा पाएका प्रहरी प्रमुख इन्स्पेक्टर कडा नहुँदा दण्डहीनता मौलायो ।अझैपनि समस्या जस्ताको तस्तै रहेको स्थानीय बताउँछन् । ‘नेताहरुको फोन आएपछि घटना मिलिहाल्छ,’ स्रोतले भन्यो, ‘टोलेलाई सुधार्न कडा इन्स्पेक्टर चाहिन्छ ।’

‘भर्खरै गुन्डागर्दी सुरु गरेका टोलेलाई तहलाउन नसके ठूलो रुप लिनेछ,’ स्रोतले भने, ‘लेखनाथले नयाँ इन्स्पेक्टर पाएको छ हेरम् कस्तो गर्छन् १’अहिले लेखनाथले नयाँ इन्स्पेक्टर पाएको छ । पश्चिम क्षेत्रीय तालिम केन्द्र बुटवलबाट सरुवा भएर कात्तिक १४ गते मदनजित महरा लेखनाथ आएका हुन् ।

शान्ति सुरक्षा कायम राख्न कुनै पनि कमी कमजोरी नरहने महराले बताए । ‘बल्ल आएको छु, धेरै कुरा बुझ्न बाँकी छ, शान्ति सुरक्षामा कुनै कमी रहँदैन,’ उनले भने, ‘जहाँसम्म गुन्डागर्दीको कुरा छ, त्यसलाई त म प्रथामिकतामै राखेर कारबाही अघि बढाउँछु ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button