पोखरा –
एकादशीको अवसरमा आगामी कार्तिक २६ गते पोखरा ९ रामघाटमा लाग्ने मेलालाई व्यवस्थित गर्न तथा भक्तजनहरुको सहयोग गर्नको लागि मेला व्यवस्थापन समिति गठन गरिएको छ।
मेलालाई व्यवस्थित गर्नको लागि वसेको नयाँबजार धार्मिक क्षेत्र विकास समितिको आयोजनामा भएको सर्वपक्षिय भेलाले समाजसेवी राम्जीप्रसाद कोईरालाको संयोजकत्वमा भक्तराज श्रेष्ठ,डम्बरलाल श्रेष्ठ, हेरम्ब प्रसाद कोईराला सदस्य रहेको मुल आयोजक समिति गठन गरिएको छ। त्यस्तै सेतीगंगा टोल विकास संस्थाकी अध्यक्ष एवं वडा कार्यालय ९ की सामाजिक परिचालक भावना श्रेष्ठको संयोजकत्वमा मेला व्यवस्थापन उपसमिति गठन गरिएको छ। उपसमितिको सदस्यमा अग्नीकुमार श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, राम पराजुली, गौतम श्रेष्ठ, विक्रम गुरुङ (ख) रहेका छन् । सो दिन भक्तजनहरु टाढा टाढाबाट एकादशी नुहाउन तथा फुलपाती तोरण तार्न पवित्र सेती नदिमा आउने हुनाले निकै भिडभाड हुने भएकोले मेला व्यवस्थापक समितिले निशुल्क पिउने पानीको व्यवस्थापन, वच्चा तथा वृद्धहरुलाई आवश्यक सहयोग गर्ने उपसमिति संयोजक भावना श्रेष्ठले जानकारी दिनुभयो ।
मेलाको अघिल्लो दिन कार्तिक २५ गते वृहत सरसफाई कार्यक्रमको आयोजना गरिएको र उक्त सरसफाई कार्यक्रममा स्थानिय टोल विकास संस्थाहरु, आमा समुहहरु, महिला समुहहरु र युवा क्लबहरुको सहभागिता रहने उक्त दिन सेतीनदिको स्नान तथा फुलपाती तार्न भजन गाउँदै सयौंको संख्यामा कास्की लगायत स्याङ्जा, पर्वत जिल्लाबाट पनि भक्तजनको घुईचो लाग्ने आयोजकले वताएको छ ।
फोटो – हिमालयन टाइम्स





